free website hit counter

सन्तोषनारायणले टुंग्याए १७ महिनाको यात्रा

beemaadmin
२०८३ बैशाख ५, शनिबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रालय स्रोतका अनुसार श्रेष्ठ मन्त्रालय पुगेर राजीनामा बुझाएर बाहिरिएका थिए। उनले आफूले स्वेच्छाले राजीनामा दिएको र सरकारलाई सहयोग गर्न मार्ग प्रशस्त गरेको बताएका छन्।

Advertisement
Advertisement

श्रेष्ठलाई मन्त्रिपरिषदले २०८१ मंसिर १० गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। त्यसअघि अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म विवाद र खिचातानीमा परेको थियो। योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम सिफारिस गरेकोमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा श्रेष्ठ नियुक्त भएका थिए।

Advertisement
Advertisement

उनको नियुक्तिपछि अनुभवसम्बन्धी योग्यता कानुनअनुसार नभएको भन्दै उजुरी परेको थियो, जसको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको थियो। साथै, विभिन्न कम्पनीहरूको आईपीओ निष्कासनमा बिचौलियामार्फत कमिसन बार्गेनिङ गरेको आरोप पनि उनीमाथि लागेको थियो, विशेषगरी जलविद्युत् कम्पनीहरूको हकमा। सो विषयमा अख्तियारले उनलाई बयानका लागि बोलाएको थियो।

यसैबीच, आफू लगानीकर्ता रहेको बुंगल हाइड्रो लिमिटेडको आईपीओ उनले अध्यक्ष रहँदाकै समयमा निष्कासन गराएको विषय पनि विवादित बनेको थियो। उक्त कम्पनीमा उनको ०।६२ प्रतिशत सेयर रहेको छ।

विभिन्न विवादका बीच श्रेष्ठ करिब १७ महिना सेबोनको अध्यक्ष पदमा रहेर बाहिरिएका छन्।

सम्बन्धित समाचार