free website hit counter

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण

beemaadmin
२०८३ असार १२, शुक्रबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरको उपस्थितिमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका उच्च पदस्थ अधिकारीहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा बालाजु शाखा प्रमुख मदन खतिवडालगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाडा मगरले प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्न तथा कठिन परिस्थितिमा नागरिकको ज्यान जोगाउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत फुयालले सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै विपद्पछिको राहतमा मात्र नभई विपद् पूर्वतयारीलाई समेत सुदृढ बनाउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको बताए।

सन नेपाल लाइफले हाल देशभर रहेका १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार