काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणीकरण नवीकरण गरेको छ ।
प्रमाणीकरण नवीकरणसँगै बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धता थप सुदृढ भएको कम्पनीले जनाएको छ ।
आईएसओ/आईईसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management System–ISMS) सम्बन्धी विश्वव्यापी रूपमा मान्य अन्तर्राष्ट्रिय मानक हो । यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपाय लागू गर्न तथा ती उपायको प्रभावकारिता नियमित रूपमा समीक्षा र सुधार गर्न व्यवस्थित आधार प्रदान गर्छ ।
यस मानकले सूचना सुरक्षाका तीन प्रमुख आधार—गोपनीयता, अखण्डता र उपलब्धता—लाई प्राथमिकतामा राख्छ । गोपनीयताअन्तर्गत ग्राहकका व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील सूचनामा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गरिन्छ ।
त्यस्तै, अखण्डताले सूचना सही, पूर्ण र विश्वसनीय राख्दै अनधिकृत परिवर्तनबाट सुरक्षित गर्ने विषयलाई जोड दिन्छ भने उपलब्धताले आवश्यक समयमा अधिकारप्राप्त प्रयोगकर्ताका लागि सूचना तथा सम्बन्धित प्रणाली उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने उद्देश्य राख्छ ।
जीवन बीमा सेवामा ग्राहकका व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखजस्ता संवेदनशील सूचनाको सुरक्षित व्यवस्थापन महत्वपूर्ण मानिन्छ । डिजिटल माध्यमबाट बीमा सेवा विस्तार भइरहेका बेला सूचना सुरक्षाको विषय ग्राहकको विश्वास र सेवाको विश्वसनीयतासँग समेत प्रत्यक्ष रूपमा जोडिएको छ ।
कम्पनीका अनुसार प्रमाणीकरण नवीकरणले सन नेपाल लाइफको सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई निरन्तर सुदृढ बनाउने प्रयासलाई थप संस्थागत गरेको छ ।
सन नेपाल लाइफले सूचना सुरक्षालाई संस्थागत जिम्मेवारी तथा ग्राहकप्रतिको प्रतिबद्धताको अभिन्न अंगका रूपमा लिएको जनाएको छ । आगामी दिनमा पनि सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।