free website hit counter

सभामुख छनोटमा ओली र प्रचण्डको तानातान

beemaadmin
२०७६ पुष ११, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार १ः०० बजे बस्ने कार्यक्रम रहेको छ । पुस ४ गते बसेको बैठक औपचारिकतामा मात्र सीमित भएको थियो । आज बस्ने बैठकले सभामुख चयन प्रक्रिया अगाडि बढाउने बताइए पनि नेकपा भित्रकै अन्तरविरोधले गर्दा सभामुख चयन पेचिलो बन्दै गएको हुँदा आजको बैठक सूचना टासेर स्थगित सम्भावना बढेर गएको स्रोतको दाबी छ । पार्टीभित्र सभामुखका उम्मेदवारका बारेमा निर्णय हुन नसक्दा पार्टी अध्यक्षद्वयले नै आ–आङ्खना उम्मेदवार अघि सारिएका कारण यो मुद्दा पेचिलो बन्दै गएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सभामुखको उम्मेदवारमा पूर्व सभामुख सुभाष नेम्वाङलाई नै अगाडि सार्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पूर्व माओवादी खेमाबाटै सभामुखको उम्मेदवार बनाउनु पर्ने अडानमा छन् । उनी निकट नेताहरुले कुनै पनि हालतमा सभामुख पूर्व माओवादी खेमाबाट अन्यत्र जान नहुने अडानमा रहेपछि दाहालले यस बारेमा अर्का अध्यक्षलाई ठोस निर्णय दिन सकिरहेका छैनन् । यही अन्योलताको मौका छोपेर उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेकी छिन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर नेकपा र विपक्षी दलका महिला नेतृहरुको दरिलो साथ छ । यही साथ पाएका कारण उनले अहिलेसम्म उपसभामुख पदबाट समेत राजीनामा बुझाएकी छैनन् ।

पहिलो बैठकको अध्यक्षता (पुस ४ गते) गरेपछि उपसभामुखबाट राजीनामा दिने र सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी स्वरुप एक हप्ता स्थगित गरिएको प्रतिनिधिसभाको बैठक यो बीचमा कुनै गृहकार्य हुन सकेन । नेकपा नेताहरुले एक साताको अवधिमा औपचारिक रुपमा सभामुख छनोट प्रक्रियामा कुनै पनि छलफलमै सहभागी भएनन् । उल्टो यो बीचमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाडेर विश्वासको मत समेत फिर्ता लिएपछि राजनीतिक माहोल मोडिन पुगेको छ । यही माहोलकै कारण पनि सभामुख छनोट प्रक्रियामा सत्तारुढ दल नेकपा अलमलिन पुग्यो । यदि आज सभामुख चयनका लागि निर्वाचन कार्यतालिका संसदको बैठकको कार्यसूचि बन्ने हो भने उपसभामुखले राजीनामा दिनैपर्छ । उपसभामुखले राजीनामा नदिईकन सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने हो भने सभामुखको उम्मेदवार नेकपाले खडा गर्न सक्दैन ।

यो अन्योलताको अवस्थामा पनि उपसभामुख तुम्बाहाम्फे भने आफू राजीनामा नदिने र बैठकको अध्यक्षता अडानले नेकपा पार्टी नेतृत्वलाई दबाव सिर्जना गरेको छ । उता, नेकपा नेतृत्वले भने उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर रिक्त दुई मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी प्रस्ताव गरे पनि उनले स्वीकारीसकेकी छैनन् ।

सम्बन्धित समाचार