free website hit counter

समाजमा धुम्रपानको सान : यसैले लिन्छ हाम्रो ज्यान

beemaadmin
२०८० जेष्ठ १७, बुधबार
  • लोकेन्द्र श्रेष्ठ (ईश्वर)

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हरेक वर्ष मे ३१ मा विश्व धुम्रपान रहित दिवस मनाउने गर्दछ । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने जोखिमहरूबारे सचेतना फैलाउन र कसरी विश्वलाई धुम्रपानमुक्त बनाउने भन्ने लक्षित भाव दिवसमा लुकेको हुन्छ । नेपालमा पनि यही दिन धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यसहित यो दिवस मनाउदै आएका छौं ।
कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट जोगाउन हरेक बर्ष धुम्रपान विरुद्धको दिवस मनाउन सुरु गरिएको दिवसलाई भन्ने गरिन्छ । सुर्तीजन्य पदार्थको धुवाँ विभिन्न प्रकारका क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगहरूसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि धुवाँले असर गर्ने गर्छ । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य रिपार्टमा पाइन्छ । तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ । अझगरी गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो थप बिगार्ने अनुसन्धानले देखाएको छ । यसैकोे प्रयोगले बर्सेनि हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने गरेका छन्

पछिल्लो आँकडाअनुसार हाल विश्वमा प्रत्येक बर्ष ७० लाख मानिसको मृत्यु धुम्रपानबाट भएको र यही दरमा अगाडि बढ्दा सन् २०३० सम्ममा प्रत्येक बर्ष संसारका ८० लाख मानिसले धुम्रपानका कारण ज्यान गुमाउनु पर्ने प्रक्षेपण गरिएको छ । विश्वमा धुम्रपान गर्नेमध्ये ८०५ भन्दा बढी मानिसहरु मध्य तथा निम्न आय भएका देशहरुमा नै बसोबास गर्दछन् । औसत धुम्रपान गर्ने व्यक्तिले वर्षमा करिब ४ हजार डलर सिगरेटमा खर्च गर्दछ । त्यो पैसाले हामीले सुर्तीको प्रयोग नगरेर अन्य मोनोरञ्जनात्मक काम गर्न सके जीबन अझ सार्थक हुने थियो ।

विश्व धुम्रपान रहित दिवसको आयोजना गर्नु अत्यन्तै महत्वपूर्ण छ । यसले तंबाकू र यसका असरहरू जस्ता महत्वपूर्ण विषयलाई सम्बोधन गरेको हुन्छ । यसको क्षेत्रलाई ब्यापक बनाउँदै लगिनुपर्छ । सुर्तीजन्य पदार्थको प्रयोगले कसरी क्षयरोग र क्यान्सरजस्ता हानिकारक रोगहरू निम्त्याउन सक्छ भन्ने महत्वपूर्ण सरोकारमा केन्द्रित छ । यसले विभिन्न उमेर समूहका मानिसहरूलाई सुर्तीजन्य पदार्थबाट हुने हानिबारे छलफल गर्छ । दिवस मनाईरहँदा धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन विश्वको लागि आज झन् ठूलो चुनौती बन्दै गएको छ । सन् १९८७ देखि यस दिनलाई धुम्रपान रहित दिवसको रुपमा मनाइदै आएपनि आज सम्मपनि यस्को नियन्त्रण थप जटिल भएको हो ।

यस दिवसको उद्देश्य धुम्र अर्थात् धुवाँजन्य र सुर्तिजन्य वस्तुको उपभोगका कारणले स्वास्थ्यमा पर्ने हानिको बारेमा जनजागरण फैलाउनु हो । तर दिवस मनाइरहे पनि विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको तथ्याङक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । यो दुर्भाग्य नै भन्नुपर्छ कि आजपनि हाम्रो समाजमा धुम्रपानलाई सानको रुपमा लिइएको पाइन्छ । विश्वका हरेक देशले दिवसका नाममा करोडौं रुपैयाँ खर्चे पनि धुम्रपानका कारण मृत्युदर रोकिएको छैन् ।
नेपाल तुलनात्मक रुपमा विश्वमै धेरै धुम्रपान गर्ने देशमा अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनले गरेको एउटा अध्ययनबाट नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाहरु धुम्रपान गर्ने गर्दछन् । हाम्रो नेपाली समाजमा विगतमा अशिक्षा वा चेतनाको कमीको कारणले गर्दा धुम्रपान गर्नेको संख्या धेरै भएकोमा आजको समयमा शिक्षित तथा पढेलेखेका व्यक्तिहरुले समेत धुम्रपान गर्नु निकै दुःखलाग्दो कुरा हो । धुम्रपानका नकरात्मक असर बताउँदा, सम्झाई बुझाई गर्दा चुरोट सुर्ति नखाने पनि बिरामी परेका तथा अकालमा मृत्यु भएका धेरै उदाहरण छन् ।

धुम्रपानलाई लिएर नेपालको कानून केही नरम भएको भनिएपनि दिगो विकास नीतिले नसर्ने रोगबाट हुने मृत्युलाई एक तिहाइले घटाउने लक्ष्य सरकारको छ । नेपाल सरकारले सुर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याई जनताको स्वास्थ्य रक्षा गर्नको लागि रेडियो, टेलिभिजन तथा अन्य सञ्चार माध्यमबाट धुम्रपान सम्बन्धी विज्ञापन र प्रवर्धनात्मक गतिविधीमा रोक लगाउने, धुम्रपानजन्य वस्तुको उत्पदानमा करको दायरा बढाउने नीति लिएको छ । सम्मानित सर्वोच्च अदालतबाट सुर्तिजन्य पदार्थको बट्टा तथा बाहिरी आवरणको ९०% भाग ढाकिने गरी धुम्रपानको असर देखिने दृश्य तथा चेतनामुलक सन्देश राख्न नेपाल सरकारका नाममा आदेश जारी समेत गरेको छ ।

सरकारले सर्वसाधरण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण तथा नियमन गर्न सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ तथा नियमावली २०६८ जारी गरेको छ । २०६८ साल बैशाख २६ गते प्रमाणीकरण तथा प्रकाशन भएको उक्त ऐनको दफा ४ ले सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, विमानस्थल, वायुसेवा, सार्वजनिक शौचालय, चलचित्र घर, होटल तथा लज, डिपार्टमेन्टल स्टोर लगाएतका सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गरेको छ । सोही ऐनको दफा ११ ले अठार बर्ष नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा नि स्शुल्क उपलब्ध गराउनमा रोक लगाएको छ ।

ऐनमा कसलै पनि निःशुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन नपाईने समेत स्पष्ट व्यवस्था गरिएको छ । नियमावलीमा सुर्तिजन्य पदार्थको विक्रेताले आफ्नो विक्रीकक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी अठार बर्ष नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा नि स् शुल्क उपलब्ध गराउनमा रोक लगाएको कुरा खुलाई सुचनापाटी राख्नुपर्ने भनेको छ । अर्कोतर्फ उत्पादकले कम्तिमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडीको प्याकेट तयार गर्नुपर्ने कुरा उल्लेख गरेको छ । ऐनको दफाहरुले सार्वजनिक स्थलमा धुम्रपान गरेमा रु १०० सम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर हाम्रो समाजमा सानसँग सार्वजनिक स्थलमा धुम्रपान गरेको, वरपर रहेका मानिसलाई चुरोट बिँडी बाँड्ने गरेको प्रशस्तै पाइन्छ । सार्वजनिक सवारीको चालकलाई ऐनले व्यवस्थापक मानेको छ । सार्वजनिक सवारीको चालकले अन्य यात्रु तथा सहचालकले धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र नमानेमा जरिवाना गर्नुपर्नेमा आफैँ धुम्रपान गर्ने गरेको समेत पाइन्छ , जसलाई रोक्न सबैको साझा प्रयास आवश्यक छ ।

सुर्तीजन्य पदार्थबाट हुने मृत्युमध्ये करिब ८०% कम र मध्यम आय भएका देशहरूमा हुने गर्दछ । यो भनेको गरिब जनता सबैभन्दा बढी प्रभावित हुन्छन् भन्नेनै हो ।
शिक्षा, खाना वा स्वास्थ्यमा खर्च हुन सक्ने पैसा लतका कारण सुर्तीजन्य पदार्थमा जान्छ । वर्षौंमा, यसले उत्पादकता घटाउँछ र स्वास्थ्य उपचारको लागि लागत बढाउँछ । नेपालमा भने वर्षेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको छ । गहिरिएर हेर्दा दिवसका दिन सुर्तिजन्य पदार्थको सेवनका विषयमा जनचेतना जगाउनु आफैमा सकरात्मक भएपनि वर्षमा एकदिन मनाएको दिवसले केही अर्थ राख्दैन । यसले के प्रष्ट हुन्छ भने दिवस औपचारिकतामै सिमित देखिन्छ ।
यसरी नेपालमा धुम्रपान तथा सुर्तिसेवनलाई न्यूनीकरण गर्नका लागि आवश्यक कानुन, नियम तथा नीति तर्जुमा गरिएतापनि सहकार्य समेतको अभावले गर्दा यथोचित कार्यान्वयन भएको छैन । दुधे बालककै अगाडि बसेर पनि धुम्रपान गर्ने हामी नेपाली प्रसस्थ मात्रामा छौं । नाबालकलाई समेत धुम्रपान खरिद गर्न पठाउने र नाबालकले समेत धुम्रपान गर्ने, नाबालक तथा गर्भवती महिलालाई धुम्रपान विक्रीवितरणमा लगाउने, अरुको निजी घरमा बसेर धुम्रपान गर्ने जस्ता काम हामी नेपालीनै गर्दे आएका छौं । कानुन विपरितका कार्यलाई रोक्नु हामी सबैको दायित्व हो । सार्वजनिक स्थलमा धुम्रपान नगरौँ, बरु निषेधित क्षेत्र घाषणा गरौँ भन्ने भाव सबैमा पलाउँछ तर कार्यन्वायन हुँदैन् ।

दिवसका दिन मात्र कार्यक्रमको आयोजना गरेर सुर्तिजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता जाहेर गर्ने र अर्को दिनबाट प्रकृतिले दिइएको सफा फोक्सो, स्वस्थ मुटु अनि सुन्दर भविष्यलाई चुरोटको धुवाँसंगै उडाउने कामले दिवसको कुनै औचित्य नै राख्दैन ।

कानून पालना गरिदिने भन्दा पनि आफ्नै हितका लागि गर्ने हो भन्ने भावना आउँनु आजको मुख्य उपलब्धी हो । आजका शिक्षित युवापुस्ताले धुम्रपान न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । तपाईँ हाम्रो साझा प्रयासबाट धुम्रपानलाई घटाउन सकेमा देशमा स्वस्थ जनशक्ति निर्माणमा सहयोग पुग्नेमा दुइमत छैन् । सुर्तिजन्य पदार्थको सेवनले मुटु र फोक्सोमा समस्या उत्पन्न गर्ने भएकाले प्रत्येक दिनलाई सुर्तिरहित दिन बनाउन सक्यौं भने मात्र दिवस मनाउनुको सार्थकता रहन सक्छ । अन्यथा दिवस दिवसमै सिमित हुनेछ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार