विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हरेक वर्ष मे ३१ मा विश्व धुम्रपान रहित दिवस मनाउने गर्दछ । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने जोखिमहरूबारे सचेतना फैलाउन र कसरी विश्वलाई धुम्रपानमुक्त बनाउने भन्ने लक्षित भाव दिवसमा लुकेको हुन्छ । नेपालमा पनि यही दिन धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यसहित यो दिवस मनाउदै आएका छौं ।
कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट जोगाउन हरेक बर्ष धुम्रपान विरुद्धको दिवस मनाउन सुरु गरिएको दिवसलाई भन्ने गरिन्छ । सुर्तीजन्य पदार्थको धुवाँ विभिन्न प्रकारका क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगहरूसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि धुवाँले असर गर्ने गर्छ । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य रिपार्टमा पाइन्छ । तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ । अझगरी गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो थप बिगार्ने अनुसन्धानले देखाएको छ । यसैकोे प्रयोगले बर्सेनि हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने गरेका छन्
पछिल्लो आँकडाअनुसार हाल विश्वमा प्रत्येक बर्ष ७० लाख मानिसको मृत्यु धुम्रपानबाट भएको र यही दरमा अगाडि बढ्दा सन् २०३० सम्ममा प्रत्येक बर्ष संसारका ८० लाख मानिसले धुम्रपानका कारण ज्यान गुमाउनु पर्ने प्रक्षेपण गरिएको छ । विश्वमा धुम्रपान गर्नेमध्ये ८०५ भन्दा बढी मानिसहरु मध्य तथा निम्न आय भएका देशहरुमा नै बसोबास गर्दछन् । औसत धुम्रपान गर्ने व्यक्तिले वर्षमा करिब ४ हजार डलर सिगरेटमा खर्च गर्दछ । त्यो पैसाले हामीले सुर्तीको प्रयोग नगरेर अन्य मोनोरञ्जनात्मक काम गर्न सके जीबन अझ सार्थक हुने थियो ।
विश्व धुम्रपान रहित दिवसको आयोजना गर्नु अत्यन्तै महत्वपूर्ण छ । यसले तंबाकू र यसका असरहरू जस्ता महत्वपूर्ण विषयलाई सम्बोधन गरेको हुन्छ । यसको क्षेत्रलाई ब्यापक बनाउँदै लगिनुपर्छ । सुर्तीजन्य पदार्थको प्रयोगले कसरी क्षयरोग र क्यान्सरजस्ता हानिकारक रोगहरू निम्त्याउन सक्छ भन्ने महत्वपूर्ण सरोकारमा केन्द्रित छ । यसले विभिन्न उमेर समूहका मानिसहरूलाई सुर्तीजन्य पदार्थबाट हुने हानिबारे छलफल गर्छ । दिवस मनाईरहँदा धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन विश्वको लागि आज झन् ठूलो चुनौती बन्दै गएको छ । सन् १९८७ देखि यस दिनलाई धुम्रपान रहित दिवसको रुपमा मनाइदै आएपनि आज सम्मपनि यस्को नियन्त्रण थप जटिल भएको हो ।
यस दिवसको उद्देश्य धुम्र अर्थात् धुवाँजन्य र सुर्तिजन्य वस्तुको उपभोगका कारणले स्वास्थ्यमा पर्ने हानिको बारेमा जनजागरण फैलाउनु हो । तर दिवस मनाइरहे पनि विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको तथ्याङक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । यो दुर्भाग्य नै भन्नुपर्छ कि आजपनि हाम्रो समाजमा धुम्रपानलाई सानको रुपमा लिइएको पाइन्छ । विश्वका हरेक देशले दिवसका नाममा करोडौं रुपैयाँ खर्चे पनि धुम्रपानका कारण मृत्युदर रोकिएको छैन् ।
नेपाल तुलनात्मक रुपमा विश्वमै धेरै धुम्रपान गर्ने देशमा अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनले गरेको एउटा अध्ययनबाट नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाहरु धुम्रपान गर्ने गर्दछन् । हाम्रो नेपाली समाजमा विगतमा अशिक्षा वा चेतनाको कमीको कारणले गर्दा धुम्रपान गर्नेको संख्या धेरै भएकोमा आजको समयमा शिक्षित तथा पढेलेखेका व्यक्तिहरुले समेत धुम्रपान गर्नु निकै दुःखलाग्दो कुरा हो । धुम्रपानका नकरात्मक असर बताउँदा, सम्झाई बुझाई गर्दा चुरोट सुर्ति नखाने पनि बिरामी परेका तथा अकालमा मृत्यु भएका धेरै उदाहरण छन् ।
धुम्रपानलाई लिएर नेपालको कानून केही नरम भएको भनिएपनि दिगो विकास नीतिले नसर्ने रोगबाट हुने मृत्युलाई एक तिहाइले घटाउने लक्ष्य सरकारको छ । नेपाल सरकारले सुर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याई जनताको स्वास्थ्य रक्षा गर्नको लागि रेडियो, टेलिभिजन तथा अन्य सञ्चार माध्यमबाट धुम्रपान सम्बन्धी विज्ञापन र प्रवर्धनात्मक गतिविधीमा रोक लगाउने, धुम्रपानजन्य वस्तुको उत्पदानमा करको दायरा बढाउने नीति लिएको छ । सम्मानित सर्वोच्च अदालतबाट सुर्तिजन्य पदार्थको बट्टा तथा बाहिरी आवरणको ९०% भाग ढाकिने गरी धुम्रपानको असर देखिने दृश्य तथा चेतनामुलक सन्देश राख्न नेपाल सरकारका नाममा आदेश जारी समेत गरेको छ ।
सरकारले सर्वसाधरण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण तथा नियमन गर्न सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ तथा नियमावली २०६८ जारी गरेको छ । २०६८ साल बैशाख २६ गते प्रमाणीकरण तथा प्रकाशन भएको उक्त ऐनको दफा ४ ले सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, विमानस्थल, वायुसेवा, सार्वजनिक शौचालय, चलचित्र घर, होटल तथा लज, डिपार्टमेन्टल स्टोर लगाएतका सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गरेको छ । सोही ऐनको दफा ११ ले अठार बर्ष नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा नि स्शुल्क उपलब्ध गराउनमा रोक लगाएको छ ।
ऐनमा कसलै पनि निःशुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन नपाईने समेत स्पष्ट व्यवस्था गरिएको छ । नियमावलीमा सुर्तिजन्य पदार्थको विक्रेताले आफ्नो विक्रीकक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी अठार बर्ष नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा नि स् शुल्क उपलब्ध गराउनमा रोक लगाएको कुरा खुलाई सुचनापाटी राख्नुपर्ने भनेको छ । अर्कोतर्फ उत्पादकले कम्तिमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडीको प्याकेट तयार गर्नुपर्ने कुरा उल्लेख गरेको छ । ऐनको दफाहरुले सार्वजनिक स्थलमा धुम्रपान गरेमा रु १०० सम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर हाम्रो समाजमा सानसँग सार्वजनिक स्थलमा धुम्रपान गरेको, वरपर रहेका मानिसलाई चुरोट बिँडी बाँड्ने गरेको प्रशस्तै पाइन्छ । सार्वजनिक सवारीको चालकलाई ऐनले व्यवस्थापक मानेको छ । सार्वजनिक सवारीको चालकले अन्य यात्रु तथा सहचालकले धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र नमानेमा जरिवाना गर्नुपर्नेमा आफैँ धुम्रपान गर्ने गरेको समेत पाइन्छ , जसलाई रोक्न सबैको साझा प्रयास आवश्यक छ ।
सुर्तीजन्य पदार्थबाट हुने मृत्युमध्ये करिब ८०% कम र मध्यम आय भएका देशहरूमा हुने गर्दछ । यो भनेको गरिब जनता सबैभन्दा बढी प्रभावित हुन्छन् भन्नेनै हो ।
शिक्षा, खाना वा स्वास्थ्यमा खर्च हुन सक्ने पैसा लतका कारण सुर्तीजन्य पदार्थमा जान्छ । वर्षौंमा, यसले उत्पादकता घटाउँछ र स्वास्थ्य उपचारको लागि लागत बढाउँछ । नेपालमा भने वर्षेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको छ । गहिरिएर हेर्दा दिवसका दिन सुर्तिजन्य पदार्थको सेवनका विषयमा जनचेतना जगाउनु आफैमा सकरात्मक भएपनि वर्षमा एकदिन मनाएको दिवसले केही अर्थ राख्दैन । यसले के प्रष्ट हुन्छ भने दिवस औपचारिकतामै सिमित देखिन्छ ।
यसरी नेपालमा धुम्रपान तथा सुर्तिसेवनलाई न्यूनीकरण गर्नका लागि आवश्यक कानुन, नियम तथा नीति तर्जुमा गरिएतापनि सहकार्य समेतको अभावले गर्दा यथोचित कार्यान्वयन भएको छैन । दुधे बालककै अगाडि बसेर पनि धुम्रपान गर्ने हामी नेपाली प्रसस्थ मात्रामा छौं । नाबालकलाई समेत धुम्रपान खरिद गर्न पठाउने र नाबालकले समेत धुम्रपान गर्ने, नाबालक तथा गर्भवती महिलालाई धुम्रपान विक्रीवितरणमा लगाउने, अरुको निजी घरमा बसेर धुम्रपान गर्ने जस्ता काम हामी नेपालीनै गर्दे आएका छौं । कानुन विपरितका कार्यलाई रोक्नु हामी सबैको दायित्व हो । सार्वजनिक स्थलमा धुम्रपान नगरौँ, बरु निषेधित क्षेत्र घाषणा गरौँ भन्ने भाव सबैमा पलाउँछ तर कार्यन्वायन हुँदैन् ।
दिवसका दिन मात्र कार्यक्रमको आयोजना गरेर सुर्तिजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता जाहेर गर्ने र अर्को दिनबाट प्रकृतिले दिइएको सफा फोक्सो, स्वस्थ मुटु अनि सुन्दर भविष्यलाई चुरोटको धुवाँसंगै उडाउने कामले दिवसको कुनै औचित्य नै राख्दैन ।
कानून पालना गरिदिने भन्दा पनि आफ्नै हितका लागि गर्ने हो भन्ने भावना आउँनु आजको मुख्य उपलब्धी हो । आजका शिक्षित युवापुस्ताले धुम्रपान न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । तपाईँ हाम्रो साझा प्रयासबाट धुम्रपानलाई घटाउन सकेमा देशमा स्वस्थ जनशक्ति निर्माणमा सहयोग पुग्नेमा दुइमत छैन् । सुर्तिजन्य पदार्थको सेवनले मुटु र फोक्सोमा समस्या उत्पन्न गर्ने भएकाले प्रत्येक दिनलाई सुर्तिरहित दिन बनाउन सक्यौं भने मात्र दिवस मनाउनुको सार्थकता रहन सक्छ । अन्यथा दिवस दिवसमै सिमित हुनेछ ।