काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरण गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कर्मचारीलाई बीमा कार्यक्रममा समेट्न आवश्यक पहल गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ ।
सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको हो ।