काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै चुक्तापुँजीका आधारमा बोनस सेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको हालको चुक्तापुँजी ३४ करोड रुपैयाँ रहेको छ। सोही पुँजीको १० प्रतिशतका दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।
यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि सेयरधनीलाई १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।