काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन भने सामान्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि भएको छ। चैतसम्म कम्पनीले १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको स्पेसल रिजर्भ कोषमा चैत मसान्तसम्म २ अर्ब ५५ करोड रुपैयाँ कायम रहेको छ। साथै महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ७७ पैसा तथा प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा कायम भएको छ।