free website hit counter

साइबर अपराध आरोपमा पक्राउ परेकी बेदिका केसी हाजिर जमानीमा रिहा

beemaadmin
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार उनी बिहीबार राति नै जिल्ला सरकारी वकिलको कार्यालयको सहमतिमा रिहा भएकी हुन्। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले केसीलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छाडिएको जानकारी दिए।

पुराणवाचिका राधिका दासीको जाहेरीका आधारमा प्रहरीले बिहीबार बिहान केसीलाई पक्राउ गरेको थियो। अनुसन्धानका लागि प्रहरीले सरकारी वकिल कार्यालयसँग १० दिनको म्याद मागे पनि अदालतबाट एक दिनको मात्र म्याद थप भएको थियो।

स्रोतका अनुसार जाहेरवाला राधिका दासीले बेदिकालाई थुनामा नराखी सहमतिमार्फत विषय समाधान गर्न चाहेको बताएकी थिइन्। तर, फौजदारी प्रकृतिको मुद्दा दर्ता भइसकेपछि कानुनअनुसार मिलापत्र गर्न नमिल्ने भएकाले त्यसो हुन सकेन।

यसपछि सरकारी वकिलको कार्यालयको सहमतिमा केसीलाई हाजिर जमानीमा रिहा गरिएको हो। उनलाई शुक्रबार कार्यालयमा उपस्थित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न भनिएको छ।

हाजिर जमानीमा रिहा भए पनि उनीविरुद्धको कानुनी प्रक्रिया भने जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरी वा अदालतले बोलाएको समयमा उपस्थित हुनुपर्नेछ। तोकिएको समयमा उपस्थित नभए पुनः पक्राउ गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

सम्बन्धित समाचार