free website hit counter

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा दुई सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

beemaadmin
२०८३ असार १३, शनिबार

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशका दुई सामुदायिक विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ।

कम्पनीले शुक्रबार रुपन्देही र कपिलवस्तु जिल्लाका विद्यालयहरूलाई पाँच थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण कम्पनीका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदीले गरेका थिए।

Advertisement
Advertisement

रुपन्देहीको सियारी गाउँपालिका–स्थित पब्लिक नमुना माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर ज्ञवालीले सामग्री ग्रहण गरेका हुन्।

Advertisement
Advertisement

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खडानन्द शर्माले प्राप्त सामग्रीले पठनपाठनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञवालीले सहयोगको उचित उपयोग गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याइने बताए।

त्यसैगरी, कपिलवस्तुको प्रतापपुर गाउँपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई तीन सेट कम्प्युटर हस्तान्तरण गरिएको छ। कम्पनीकी बुटवल शाखा प्रमुख सुष्मा पाण्डेका अनुसार यस सहयोगले विद्यालयको प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउन तथा विद्यार्थीको सूचना प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्नेछ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका सहायक बलराम गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय स्तरमा सञ्चालन गरिएको यस्तो कार्यक्रम प्रशंसनीय भएको उल्लेख गर्दै अन्य संस्थाहरूले पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद बानियाँले सहयोगका लागि कम्पनीप्रति आभार व्यक्त गर्दै यसबाट शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

दुवै कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, नेपाल बीमा प्राधिकरणका प्रतिनिधि, सानिमा जिआईसी इन्स्योरेन्सका प्रदेश तथा शाखा प्रमुखहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार