काठमाडौं । साहस ऊर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। विद्युत बिक्री आम्दानी वृद्धि र वित्तीय खर्चमा उल्लेख्य कमी आएपछि कम्पनीको नाफामा उल्लेखनीय सुधार देखिएको हो।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष असार मसान्तसम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा यो ५१.८४ प्रतिशत बढी हो।
सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको कम्पनीले गत वर्ष २ अर्ब ८४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टापछि कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ।
नाफा बढ्नुको मुख्य कारण वित्तीय खर्चमा आएको कमीलाई मानिएको छ। कम्पनीको ब्याज खर्च अघिल्लो वर्षको ८० करोड २१ लाख रुपैयाँबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ। मध्यम तथा दीर्घकालीन ऋण पनि ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ।
असार मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) २९ रुपैयाँ ५४ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको कम्पनीले जनाएको छ।
यसैबीच, कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्रालिमार्फत ३४१ मेगावाटको बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना अघि बढाइरहेको छ। सो आयोजनाका लागि हकप्रद शेयर निष्कासनको तयारीसमेत अगाडि बढाइएको कम्पनीले जनाएको छ।