सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस १७ (इन्स्योरेन्स कन्ट्रयाक्ट्स) को प्रभावकारी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यान्वयन सुनिश्चित गर्न विश्वप्रसिद्ध परामर्शदाता संस्था केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई कार्यान्वयन साझेदारका रूपमा नियुक्त गरेको छ।
नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको एनएफआरएस १७ कार्यान्वयनलाई व्यवस्थित र प्रभावकारी बनाउन कम्पनीले यो रणनीतिक कदम चालेको हो। नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सिटिजन लाइफले केपीएमजी इन्डियासँग औपचारिक रूपमा सम्झौता गरेको जनाएको छ।
केपीएमजी विश्वका प्रतिष्ठित “बिग फोर” व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो। यसले एस्योरेन्स, कन्सल्टिङ, ट्याक्स तथा रिस्क एड्भाइजरी क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अन्तर्राष्ट्रिय सञ्जाल, अनुभवी जनशक्ति, उच्च व्यावसायिक नैतिकता तथा आधुनिक कार्यशैलीका कारण केपीएमजी विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाहरूको विश्वसनीय साझेदारका रूपमा परिचित छ।
विशेषगरी आईएफआरएस १७/एनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक दक्षता उल्लेखनीय मानिन्छ। दक्षिण एशियामा, विशेषगरी भारतमा यसको बलियो उपस्थिति र स्थानीय बजारबारेको गहिरो बुझाइले नेपालजस्ता विकासोन्मुख मुलुकमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास कायम भएको छ।
सिटिजन लाइफले यस साझेदारीमार्फत अन्तर्राष्ट्रियस्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै ज्ञान हस्तान्तरणमार्फत आफ्ना आन्तरिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरेको छ।
सम्झौताको अवधि साढे तीन वर्ष रहनेछ। यस अवधिमा प्रारम्भिक कार्यान्वयनसँगै आगामी तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्ट सेवा पनि उपलब्ध गराइनेछ। कम्पनीका अनुसार यसले प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकासमा सहयोग पुर्याउनेछ।