काठमाडौं । नेपालको दुग्ध क्षेत्रमा लामो समयदेखि सक्रिय सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले उपभोक्तालाई डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। कम्पनीले आगामी एक साताभित्र एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एपसमेत सार्वजनिक गर्ने जनाएको छ।
सानेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच प्रबन्ध निर्देशक सुमित केडियाको अध्यक्षतामा नयाँ डिजिटल प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रममा प्रबन्ध निर्देशक केडियाले नयाँ वेबसाइट र आउन लागेको मोबाइल एपले उपभोक्तालाई घरमै बसेर कम्पनीका विभिन्न दुग्धजन्य उत्पादनबारे जानकारी लिन तथा अनलाइनमार्फत अर्डर गर्न सहज बनाउने बताए।
कम्पनीका अनुसार नयाँ डिजिटल प्लेटफर्ममा शुद्ध दूध, घिउ, सुगर–फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर तथा आइसक्रिमलगायत उत्पादनको विस्तृत विवरण उपलब्ध हुनेछ। उपभोक्ताले उत्पादनको मूल्य, पोषणसम्बन्धी जानकारीलगायत आवश्यक विवरण हेरेर अनलाइन अर्डर गर्न सक्नेछन्।
कम्पनीले डिजिटल प्लेटफर्ममार्फत नियमित रूपमा उत्पादन खरिद गर्न चाहने ग्राहकका लागि सब्स्क्रिप्सन सुविधा पनि उपलब्ध गराएको जनाएको छ। यसले दैनिक वा निश्चित अवधिमा दुग्धजन्य उत्पादन आवश्यक पर्ने उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, अनलाइन खरिदका क्रममा ई–सेवा, खल्तीलगायत डिजिटल वालेटमार्फत सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले डिजिटल प्रविधिको प्रयोगमार्फत उत्पादनको जानकारीदेखि अर्डर र डेलिभरीसम्मको प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
दुग्धजन्य उत्पादनको बजारमा उपभोक्ताको बदलिँदो आवश्यकता र डिजिटल खरिद प्रणालीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ।
डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राख्दै आफ्ना गुणस्तरीय उत्पादन उपभोक्ताको घरदैलोसम्म सहज रूपमा पुर्याउने कम्पनीको योजना छ। वेबसाइटसँगै मोबाइल एप सञ्चालनमा आएपछि ग्राहकले जुनसुकै समय र स्थानबाट उत्पादन हेर्न, अर्डर गर्न तथा सेवा लिन सक्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार नयाँ डिजिटल पहलले उपभोक्तासँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुग्धजन्य उत्पादन खरिदलाई आधुनिक, पारदर्शी र सुविधाजनक बनाउनेछ।