काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पछिल्ला तीन आर्थिक वर्षमा १० अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले जेनजी आन्दोलन, प्राकृतिक विपद् तथा नियमित रूपमा पर्ने दाबीबापत उक्त रकम भुक्तानी गरेको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवारले बीमाप्रतिको विश्वास कायम राख्न समयमै र सहज रूपमा दाबी भुक्तानी गर्नु कम्पनीको मुख्य जिम्मेवारी रहेको बताए।
‘दाबी भुक्तानीमा नो कम्प्रोमाइज। बीमितले समयमा भुक्तानी पाए भने बीमाप्रतिको विश्वास बढ्छ। त्यही विश्वास नै हाम्रो मानक हो,’ उनले भने।
कम्पनीले दाबी फर्छ्योटलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै बैदवारले छिटोछरितो रूपमा दाबी भुक्तानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिबापत सिद्धार्थ प्रिमियरमा परेका ४२२ वटा दाबीमध्ये ३८९ वटाको अग्रिम तथा अन्तरिम भुक्तानी गरिएको कम्पनीले जनाएको छ। ती दाबीबापत कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ।
कम्पनीका अनुसार अब ३३ वटा दाबी मात्रै फर्छ्योट हुन बाँकी छन्। उक्त घटनाबाट भएको क्षतिबापत कम्पनीको प्रारम्भिक अनुमानित दायित्व ५ अर्ब ५० करोड रुपैयाँ बराबर रहेको थियो, जुन निर्जीवन बीमा कम्पनीहरूमध्ये सर्वाधिक रहेको कम्पनीको दाबी छ।
फर्छ्योट हुन बाँकी दाबीमध्ये अधिकांशमा आवश्यक कागजात पूरा हुन बाँकी रहेको र केहीमा अन्तिम सर्भे प्रतिवेदन प्राप्त हुन बाँकी रहेको कम्पनीले जनाएको छ।
‘हाम्रो पहिलो र अन्तिम प्राथमिकता नै दाबी भुक्तानी हो। जेनजी आन्दोलनको ८० प्रतिशत दाबी भुक्तानी दिइसकेका छौँ, अब ३३ वटा मात्रै बाँकी छन्,’ सीईओ बैदवारले भने।
उनका अनुसार अन्तिम सर्भे प्रतिवेदन प्राप्त भएपछि बीमालेखका सर्त, स्वीकृत क्षति मूल्यांकन र प्रचलित कानुनी व्यवस्थाअनुसार प्रक्रिया पूरा गरी बाँकी दाबी शीघ्र फर्छ्योट गरिनेछ।
सिद्धार्थ प्रिमियरले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १५ करोड रुपैयाँ, २०८१/८२ मा २ अर्ब ८० करोड रुपैयाँ र २०८२/८३ मा ५ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।
यसरी तीन आर्थिक वर्षमा कम्पनीको कुल दाबी भुक्तानी १० अर्ब ७३ करोड रुपैयाँ पुगेको हो। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बढी रकम दाबीबापत भुक्तानी गरेको तथ्यांकले देखाउँछ।
सिद्धार्थ प्रिमियरले २०८१ सालमा आएको बाढीबाट भएको क्षतिबापत १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ।
त्यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निजी तथा व्यावसायिक सम्पत्ति, सवारीसाधन, उद्योग र पूर्वाधारलगायत क्षेत्रका दाबी फर्छ्योटलाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ।
बाढी प्रभावित बीमितलाई सकेसम्म छिटो आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले दाबी फर्छ्योट प्रक्रिया तीव्र बनाइएको कम्पनीको भनाइ छ।
नेपाल बीमा प्राधिकरणले भोटेकोशी बाढीबाट सिर्जित दाबी शीघ्र फर्छ्योट गर्न जारी गरेको व्यवस्था तथा निर्देशनको मर्मअनुसार योग्य दाबीलाई सहज, पारदर्शी र छिटो रूपमा टुंग्याउने प्रतिबद्धता सीईओ बैदवारले व्यक्त गरेका छन्।
प्राकृतिक विपद्का कारण हुने भौतिक तथा आर्थिक क्षति पूर्ण रूपमा रोक्न नसकिए पनि बीमाले त्यसबाट उत्पन्न आर्थिक प्रभाव न्यूनीकरण गर्न सहयोग पुर्याउने बैदवारले बताए।
उनका अनुसार विपद्बाट प्रभावित बीमितलाई पुनः सामान्य अवस्थामा फर्कन आवश्यक आर्थिक आधार उपलब्ध गराउनु नै बीमाको मूल उद्देश्य हो।
दाबी फर्छ्योटको गति आवश्यक कागजात, क्षतिको विवरण तथा सर्भे र मूल्यांकन प्रतिवेदन समयमै उपलब्ध हुने प्रक्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने कम्पनीले जनाएको छ।
त्यसैले दाबी फर्छ्योटलाई थप तीव्र बनाउन आवश्यक कागजात तथा क्षतिको विवरण समयमै उपलब्ध गराउन कम्पनीले बीमितलाई आग्रह गरेको छ।
कम्पनीले आफ्नो दाबी व्यवस्थापन संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै योग्य दाबीलाई बीमालेखका सर्त र प्रचलित कानुनी व्यवस्थाअनुसार यथाशीघ्र फर्छ्योट गर्ने प्रतिबद्धता जनाएको छ।