काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०।२४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब ८ करोड रुपियाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोड रुपियाँबाट बढेर करिब साढे अर्ब रुपियाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ९७ करोड रुपियाँबाट बढेर ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो आवको तुलनामा ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपियाँ कायम भएको छ । सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपियाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपियाँ पुगेको छ । असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २१.८६ रुपिबाट बढेर २४.१० रुपियाँ पुगेको छ । त्यस्तै, खराब कर्जा पनि २.१७ प्रतिशतबाट २.६२ प्रतिशत पुगेको छ । साथै, वितरणयोग्य आम्दानीमा आधारित प्रतिशेयर आम्दानी १३.२२ रुपियाँ छ । १४ अर्ब ९ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९० करोड रुपियाँ सञ्चित छ ।