काठमाडौं । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेयता नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। बजेट सार्वजनिक भएको दिन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक सातामै १८ हजार ४०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
बजेटपछि पहिलो कारोबार दिन जेठ १७ गते आइतबार सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको वृद्धि भएको थियो। त्यसदिन सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसपछि जेठ १८ गते सोमबार सुनको मूल्य सामान्य रूपमा २०० रुपैयाँले घट्दै प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा झरेको थियो। जेठ १९ गते मंगलबार भने पुनः ४०० रुपैयाँले बढेर सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भयो।
जेठ २० गते बुधबार सुनको मूल्य स्थिर रहँदा बजारमा कुनै परिवर्तन देखिएन। त्यसपछि जेठ २१ गते बिहीबार २०० रुपैयाँले घट्दै सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
साता अन्तिम दिन जेठ २२ गते शुक्रबार सुनको मूल्यमा केही गिरावट आए पनि समग्र साप्ताहिक वृद्धि भने कायम रह्यो। उक्त दिन सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार बजेटपछिको बजार मनोविज्ञान, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि तथा अमेरिका–इजरायलबीच बढ्दो तनावजस्ता कारणले सुनको मूल्यमा दबाब सिर्जना भएको हो। विश्व बजारमा सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति आकर्षण बढेसँगै नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको बताइन्छ।