काठमाडौं । बैशाख ५ गते, बुधबार, अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन अर्थात बैशाख ४ गते मंगलबार, सो समयसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको डलरको भाउले यस दिन सो रेकर्डलाई तोडेर अर्को रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंक अनुसार यस दिन डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। अर्थात अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्ने भएको छ। मंगलबार डलरको भाउ १३३ रुपैयाँ ८३ पैसा थियो। बुधबार १३ पैसाले भाउ बढेको हो। अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिनप्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुन्छ।