काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई पुनः नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई पुनः सोही जिम्मेवारीमा फर्काइएको हो।
ढुंगाना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ फागुनमा कार्यकारी निर्देशक नियुक्त गरेका थिए। तर, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि उनी पदमुक्त भएका थिए।
कार्यकालका क्रममा ढुंगानाले करिब २४ लाख थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न गराएर संस्थाको कार्यक्षमता प्रदर्शन गरेको भन्दै प्रशंसा पाएका थिए।
जेनजी आन्दोलनका बेला यातायात व्यवस्था विभागको मास प्रिन्टरमा प्राविधिक समस्या आएपछि लाइसेन्स छपाइको सम्पूर्ण जिम्मेवारी सुरक्षण मुद्रण केन्द्रलाई दिइएको थियो। त्यसक्रममा केन्द्रले ठूलो परिमाणमा रोकिएका लाइसेन्स छापेर वितरणका लागि उपलब्ध गराएको थियो।
यातायात व्यवस्था विभागको सेवा प्रवाहमाथि प्रश्न उठिरहेका बेला मुद्रण केन्द्रले प्रभावकारी रूपमा जिम्मेवारी सम्हालेको भन्दै ढुंगानाको व्यवस्थापकीय क्षमताको चर्चा भएको थियो।