free website hit counter

सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

beemaadmin
२०८३ आश्विन १६, शुक्रबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै नाममा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्र प्राप्त भइसकेको छ। फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ।

कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहिलो पहल भएको दाबी गरेको छ। ५० करोड रुपैयाँ आकारको फण्डमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसर पहिचान गर्ने कम्पनीले जनाएको छ।

‘अल्फा प्लस सूर्यज्योति फण्ड’ ले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, ई–कमर्स तथा सूचना प्रविधि, पर्यटन तथा मनोरञ्जन, स्वास्थ्य तथा वेलनेस, रियल इस्टेट, पूर्वाधार विकास, कृषि, होटल तथा रेस्टुरेन्टलगायतका क्षेत्रमा लगानीका अवसर खोज्नेछ।

त्यस्तै, खनिज उत्खनन तथा प्रशोधनलगायतका क्षेत्रमा समेत लगानी गर्न सकिने कम्पनीले जनाएको छ। लगानी समिति तथा स्वीकृत लगानी नीतिअनुसार प्रचलित कानुनले निषेध नगरेका अन्य सम्भावनायुक्त निजी क्षेत्रका क्षेत्रमा पनि फण्डमार्फत लगानी गर्न सकिने व्यवस्था रहेको छ।

कम्पनीका अनुसार ५० करोड रुपैयाँको यो फण्डले सूर्यज्योति लाइफको लगानी पोर्टफोलियो विस्तार गर्नुका साथै दीर्घकालीन वित्तीय रणनीतिलाई थप मजबुत बनाउन सहयोग गर्नेछ।

सूर्यज्योति लाइफले बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै दीर्घकालीन वित्तीय स्थायित्व, पारदर्शिता र जिम्मेवार लगानी अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ पनि यही उद्देश्यअनुरूप सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार