काठमाडौं । चुक्ता पुँजी वृद्धिका लागि सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय क्षेत्रिय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुवै कम्पनी विच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरु बीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।
अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।
नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।