काठमाण्डौ । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई सुझाव दिएको छ । यसअघि गत असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले समितिलाई २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको छ । महान्याधिवक्ता कार्यलयले कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले कम्तीमा ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्न सक्नेसहितको लिखित जवाफ दिएको छ । त्यस्तै बोर्ड अध्यक्षका नियुक्तीका लागि पुनः सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ । अर्थ मन्त्रालयले कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि ३ जना उम्मेद्वार दोस्रोपटक पनि उपस्थित नभए पछि महान्यायाधिवक्ता कार्यालयसँग लिखित सुझाव माग गरेको थियो । पहिलोपटक बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा।नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।