काठमाडौँ । निरन्तर दबाबमा रहेको सेयर बजार सुधारका लागि सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउनुका साथै पूँजीबजारमा देखिएका समस्या समाधान गर्न आगामी साताभित्र सुधारसम्बन्धी प्याकेज सार्वजनिक गर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूँजीबजारलाई पूँजी निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए।
उनले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइने जानकारी दिए। निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास अभिवृद्धि गर्नेदेखि बाढी प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानसम्मका विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास पुनःस्थापित गर्न छुट्टै प्याकेजसमेत तयार भइरहेको बताए।
रोकिएका लगानीलाई अघि बढाउने, नयाँ लगानी भित्र्याउने तथा उत्पादन र रोजगारी विस्तार गर्ने उद्देश्यसहित निजी क्षेत्रसँग सम्बन्धित सुधारका कार्यक्रम अघि बढाइने उनले स्पष्ट पारे।
सरकारले अर्थतन्त्रमा तत्काल सुधार ल्याउने कार्यक्रमसँगै दीर्घकालीन संरचनागत सुधारलाई समेत समानान्तर रूपमा अघि बढाउने तयारी गरेको अर्थमन्त्री वाग्लेको भनाइ छ।