free website hit counter

स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद

beemaadmin
२०८३ कार्तिक ९, आईतवार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको बताएपछि राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको छ। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा उनले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले आपत्ति जनाएका छन्।

समिटमा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने र दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताएका थिए। नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने प्रवृत्तिबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो।

Advertisement
Advertisement

तर, उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले नेता बाँस्कोटा र राप्रपा नेता थापाले सीमा विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा नेपालको हितका लागि आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको तर्क गरेका छन्।

Advertisement
Advertisement

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे छलफल हुने वा नहुने भन्ने प्रश्न उठाएका छन्। उनले लेखेका छन्, ‘अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने?’

उनले अर्थमन्त्रीको अभिव्यक्तिलाई ‘मुनरो डक्ट्रिन’सँग जोड्दै आलोचना गरेका छन्। साथै, प्रधानमन्त्रीले ग्रेटर नेपालको नक्सा टाँगेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यङ्ग्यात्मक टिप्पणीसमेत गरेका छन्।

त्यस्तै, राप्रपा नेता कमल थापाले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका छन्। नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिइएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै उनले नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नरहेको बताएका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर “भारतविरोधी राष्ट्रवादको युग सकियो” भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ।’

उनले सीमासम्बन्धी विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्। साथै, वाग्लेको अभिव्यक्ति विगतमा उनले अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित छ कि भन्दै प्रश्न गरेका छन्।

थापाले जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताउँदै वाग्लेको भनाइ सरकारकै आधिकारिक धारणा हो कि होइन भन्ने प्रश्नसमेत उठाएका छन्।

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर उठेको विवादले नेपाल–भारत सम्बन्ध, राष्ट्रियता र दुई देशबीचका पुराना विवादलाई कसरी सम्बोधन गर्ने भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ। एकातिर आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारको आवश्यकता औँल्याइएको छ भने अर्कोतिर सीमा, डुबान र अन्य राष्ट्रिय सरोकारका विषयमा नेपालको अडान स्पष्ट हुनुपर्ने आवाज उठेको छ।

सम्बन्धित समाचार