free website hit counter

स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढे बीमाको बजार ठूलो छ

beemaadmin
२०७६ माघ १३, सोमबार

चार दशकदेखि बीमा क्षेत्रमा क्रियाशील एसके तमोट २७ वर्षदेखि बीमा क्षेत्रको निर्णायक पदमै बसेर काम गर्दै आउनुभएको छ । बीमा क्षेत्रको विज्ञका रुपमा चिनिनुभएका तमोट नेशनल इन्स्योरेन्स कम्पनीबाट शाखा प्रबन्धक पदमा बीमा क्षेत्रमा प्रवेश गर्नुभएको हो । त्यसपछि उहाँ हिमालयन जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, रिलायन्स लाइफ हुँदै हाल उहाँ जनरल इन्स्योरेन्स नेपालको महाप्रबन्धकमा कार्यरत हुनुहुन्छ । पूर्वी नेपालको भाेजपुर जिल्लामा जन्मिनुभएका तमोट हाल काठमाडौं काटेश्वरका बासिन्दा हुनुहुन्छ । बीमा क्षेत्रको विस्तार, यस क्षेत्रमा देखिएका समस्या लगायतका विषयमा उहाँसँग अर्थबीमा डटकमका सम्पादक नुरराज कँडेलले गर्नुभएको छोटो कुराकानी :

० बीमा बजार सुरधाका लागि तपाईंको सुझाव के छ ?
– बीमा कम्पनीको भविष्य राम्रो छ । स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढेमा बजार विस्तार राम्रो हुनेछ र बीमा क्षेत्रको दायरा र पहुँच हाम्रो देशको दुर्गम क्षेत्रसम्म फैलाउनु पर्दछ ।

० बैंकहरू मर्फत् बीमा कम्पनीले बीमालेख (बैंकास्याेरेन्स ) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पर्ला ?
– बीमा नभई बैंकको बचत सुरक्षित हुँदैन । र, बैंकमार्फत् हामीले कुनै न कुनै रुपमा व्यापार पाइराखेका हुन्छौं । यो एक अर्काको आवश्यकतामा भर पर्ने कुरा हो । यसले खासै असर पार्र्दैन ।

० नेपाली बीमा बजार अझै विस्तार भएको छैन, जीवन बीमाबाहेक नीर्जिवन बीमामा सवारी साधन, घर, आगजनी, पशु, बाली, चोरी, प्राकृतिक प्रकोप, दुर्घटना आदिको विस्तार कस्तो छ ?
– विगत तीन/चार वर्षअघि ५ प्रतिशतको हाराहारीमा रहेको बीमा पहुँच हाल आएर २२ प्रतिशत पुग्नुले बीमा बजार विस्तार कस्तो छ भन्ने स्पष्ट देखाएको छ । बीमाको बजार विस्तार अब गतिमा निरन्तर अघि बढिरहने छ ।

० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी बढ्ला ?
– इच्छा भयो भने बीमा गर्न आम्दानी खासै फरक पार्दैन । बीमा अत्यावश्यक भइसकेको छ । अन्य अनावश्यक खर्च हटाएरै भए पनि स्वास्थ्य, शिक्षा र बीमा अनिवार्य भइसकेको छ ।

० बीमा त गर्यो तर दाबी गर्ने प्रक्रिया निकै झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पुर्याउनै नसकेर बीमा दाबी लिन नसकिने अवस्था छ भनिन्छ नि ?
– प्रक्रिया पुर्याउँदा त्यस्तो लागेको हुनसक्छ । आवश्यक कागजात पुग्दा झन्झटिलो हुँदैन । थोरै बीमा शुलक लिएर धेरै बीमाङ्क रकमको क्षतिपूर्ति दिने कुरा हो । प्रक्रिया मिलाउँदा केही समय लाग्नु स्वाभाविक हो ।

० जीवन र नीर्जिवन बीमाको चुक्ता पुँजी पुर्याउन हम्मेहम्मे परेको अवस्था छ यस्तो अवस्थामा मर्जरको सम्भावना कत्तिको छ ?
– जनरल इन्स्योरेन्सकम्पनी नेपालमा पुँजीको समस्या छैन ।

० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन्, नीर्जिवन बीमा कम्पनी पनि थपिने प्रक्रियामा छन् यस्तोमा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– बजार सानो भन्न मिल्दैन । व्यवसाय विस्तार गर्न पर्याप्त बजार छ । तर स्वस्थ प्रतिस्पर्धाबाट अघि बढ्नु पर्दछ । केही वर्ष पहिला बीमा कम्पनी पनि थोरै थिए, बीमाको पहुँच पनि साँघुरो थियो । हाल आएर बीमा कम्पनी थपिएसँगै बजार पनि विस्तार भएको छ ।

० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– दक्ष जनशक्तिको खाँचो नै छ । किनकि यो प्राविधिक क्षेत्र हो । हाल इन्स्योरेन्स इन्ष्टिच्युट नेपाल लिमिटेडले तालिम दिने व्यवस्था गर्दै आएको छ । अबको ४÷५ वर्षमा बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुँदैन ।

० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– पुनर्बिमा भनेको जोखिमलाई धेरैतिर छर्ने वा हस्तान्तरण गर्ने हो । नेपालमा पनि पुनर्बिमा कम्पनी छ । केही हिस्साको पुनर्बिमा नेपालमा नै हुन्छ र केही विदेशमा हुन्छ । विदेशी कम्पनी कम्पनीहरुले पनि नेपालमा पुनर्बिमा गराएर बीमा शुल्क तिरेकै छन् । यसो हुँदा बीमा शुल्क भित्रिने र बाहिरिने क्रम भइनै रहन्छ ।

० सबैलाई प्यान अनिवार्य गर्ने नियम लागू गर्न सम्भव होला ?
– यो धेरै राम्रो पहल हो । म यसमा सकारात्मक छु । यसले पारदर्शीता बढाउँदछ । यो राज्यको नीतिनियम अन्तर्गत पर्ने हुनाले सबैले मान्नै पर्दछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार