बाजुरा । संघीय सरकारले कोरोना संक्रमण रोक्न खटिने स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँको बीमा व्यवस्था गरेको छ । संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारहरुले पनि स्वास्थ्यकर्मीको सुरक्षाका खातिर बीमा व्यवस्था गरिरहेका छन् । बाजुराको हिमाली गाउँपालिकाले रु १० लाख बराबरको बीमा सुविधा दिने निर्णय गरेसँगै कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका त्यहाँका कर्मचारीले कुल ५० लाखको बिमा सुविधा पाउने भएका छन्। प्रतिदिन रु ५०० थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप रु १० लाखको बीमा सहुलियत दिने निर्णय गरेको हो । सरकारको रु २५ लाख र प्रदेश सरकारको रु १५ लाखमा गाउँपालिकाले रु १० लाख थपेर रु ५० लाख बनाएको हो । मानव जातिको सुरक्षाका लागि खटिएका कर्मचारीलाई हौसला दिन थप सुविधा र बीमा गर्ने निर्णय गरिएको हो । वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद् व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले गरेको उक्त निर्णय सार्वजनिक गरेको हो ।
गाउँपालिकाले गरेको निर्णयले कर्मचारीको मनोबल बढेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीको भनाइ छ । निर्णयले स्वास्थ्यकर्मी, कर्मचारीसहितको मनोबल बढाउने योजना हिमालीले ल्याएको हो । गाउँपालिकाले सम्पूर्ण आवतजावत, भेला तथा जमघटका सबै गतिविधि पूर्णरूपमा बन्द गरेको छ । सीमानाकामा खटिन र वडामा लकडाउन नियमको पालना गर्न स्वयंसेवक खटाइएको छ ।