कोरोना भाइरसले मुलुक आक्रान्त भएको अवस्थामा कोरोना नियन्त्रणका लागि मुल भूमिकामा देखिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी सरुवा र स्वास्थ्य सामग्री खरिदमै अलमलिएको छ । २७ महिनामा आधा दर्जन सचिव व्यहोरेको मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य सचिवको भूमिकामा लक्ष्मण अर्याल आएका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका अर्याललाई स्वास्थ्य मन्त्रालय पुर्याइनुमा प्रधानमन्त्रीका सल्लाहकारदेखि लिएर स्वास्थ्यमन्त्री भानुभक्त ढकालको राम्रै आशिर्वाद मिलेको बताइन्छ । तीन महिनाअघि स्वास्थ्य सचिव बनाइएका यादव कोइरालालाई सरुवा गरेलगत्तै मन्त्रीको ध्यान महानिर्देशक र निर्देशकहरुको सरुवमा पुगेको थियो । सचिव बदलीपछि कर्मचारी सरुवामा रुचि देखाएका ढकालले आफैंले हस्ताक्षर गरेर महानिर्देशक बनाएका महेन्द्र श्रेष्ठलाई आफ्नै कार्यकालमा मन्त्रालय तानेका छन् ।
मन्त्रीको एक कार्यकालमा महानिर्देशक दोस्रो पटक परिवर्तन भएको सम्भवतः यो पहिलो घटना हो । विगतमा मन्त्रि परिवर्तन हुनेबित्तिकै महानिर्देशक परिवर्तन हुने र मन्त्रीको कार्यकालभर काम गर्न पाउँथे । तर मन्त्री ढकालले कार्यभार सम्हालेलगत्तै स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. रोशन पोखरेलाई मन्त्रालय तान्दै महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाए । श्रेष्ठको कार्यकाला औषधि खरिद प्रकरणले चर्चित बन्न पुग्यो । उनलाई सोही बहानामा मन्त्रालय तानेर डा. दिपेन्द्ररमण सिंहलाई महानिर्देशक बनाइयो । औषधि खरिद प्रकरणमा प्रत्यक्ष सरोकार राख्ने आपूर्ति व्यवस्था महाशाखाका निर्देशक पनि मन्त्री ढकालकै कार्यकालमा तेस्रो पटक परिवर्तन गरियो । डा. भोगेन्द्र डोटेललाई मन्त्रालय तान्दै डा. रमेश खरेललाई महाशाखा निर्देशक बनाएका मन्त्री ढकालले प्रवक्ता पनि तेस्रो पटक परिवर्तन गरेका छन् ।
ढकालले मन्त्रालय सम्हाल्दा प्रवक्ताको जिम्मेवारीमा महेन्द्र श्रेष्ठ थिए, त्यसपछि डा. विकास देवकोटालाई प्रवक्ताको जिम्मेवारी दिएका ढकालले अहिले उनलाई मन्त्रालयको अर्कै महाशाखामा सरुवा गर्दै प्रसुतीगृहका निर्देशकको भूमिकामा रहेका डा. जागेश्वर गौतमलाई मन्त्रालयमा सरुवा गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको छ । मन्त्रालयका हरेकजसो महत्वपूर्ण महाशाखाहरुमा महाशाखा प्रमुखहरु परिवर्तन गरिसकेका ढकालले केन्द्रीय अस्पतालहरुको प्रमुख पनि परिवर्तन गरिसकेका छन् । गंगालाल अस्तालको निर्देशकमा डा. चन्द्रमणि अधिकारी, भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा पनि आफू अनुकुल व्यक्ति छनोट गरेका छन् । प्रसुतीगृहको निर्देशकमा डा. संगीता मिश्र, कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, कान्ति बाल अस्पतालको निर्देशकमा पनि नयाँ नेतृत्व पठाइएको छ ।
सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको प्रमुखमा डा. प्रेमराज ज्ञवालीलाई लगिएको छ । निजी अस्पतालमा लगानी गरेका भनिएका ज्ञवालीलाई नियम विपरित उक्त केन्द्रको निर्देशक बनाएकोमा चिकित्सकहरुले आपत्ति प्रकट समेत गरेका थिए । तर प्रधानमन्त्रीका मृगौला प्रत्यारोपणमा नेतृत्व लिएका डा. ज्ञवालीलाई प्रधानमन्त्रीको जोडबलमा प्रधानमन्त्रीलाई खुशी बनाउन मन्त्री ढकालले जिम्मेवारी सुम्पिएको चर्चा छ । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा मन्त्री ढकालले आफू अनुकुलका डा. ज्ञानेन्द्र गिरीलाई नियुक्ति दिलाएका छन् । मन्त्री भएदेखिनै सरुवा र नियुक्तिमा आँखा गाडेका मन्त्री ढकालले पछिल्लो समय आयुर्वेद अनुसन्धान तालिम केन्द्र र सिंहदरबार वैद्यखानालाई विकास समिति बनाउने निर्णय गराएका छन् ।
आफैंले खारेज गरेको विकास समितिलाई आफू अनुकुलका व्यक्तिलाई नियुक्ति दिलाउन विकास समिति ब्यूताएको आरोप उनीमाथि छ । मन्त्रीको ध्यान सरुवा र नियुक्तिमा केन्द्रीत रहँदा अहिले स्वास्थ्य मन्त्रालय अलमलमा रहेको र कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ । राजनीतिक नेतृत्वले सरुवा र नियुक्तिमा ध्यान दिनु, नीति निर्माणमा चासो नराख्नुले गर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्व असफल भएको चर्चा भएको छ । इतिहासकै कठिन मोडमा देशमा उभिएको छ । स्वास्थ्य संकटबाट मुलुक जर्जर हुन पुगेको अवस्थामा प्रभावकारी र कुशल नेतृत्व निर्वाह गर्र्नु मन्त्री सरुवामै अल्झिएपछि सिंगो स्वास्थ्य क्षेत्रमा उत्साह आउन सकेको छैन ।