free website hit counter

स्वास्थ्य बीमा कार्यक्रमका केही जटिलता

beemaadmin
२०७६ आश्विन ३, शुक्रबार

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डअन्तर्गतको बीमा गराएपछि सहज रुपमा गुणस्तरीय उपचार गर्न पाइने विश्वासका साथ शुरु गरिएको नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अस्पतालहरूको भौतिक संरचना तथा जनशक्ति अभावले केही जटिलता देखिएको छ । दक्ष जनशक्ति नहुँदा र बिमितहरूको बीमाको अवस्था के छ भन्ने इन्टरनेटबाट हेर्नुपर्ने भएकाले देशका दूरदराजका सेवा प्रदायक संस्थाहरुले चुस्त सेवा दिन नसकेको बिमितहरुले बताएका छन् । लगत नहेरी बीमितहरूको उपचार गर्न सम्भव हुँदैन । लगत हेर्न इन्टरनेटको सहज पहुँच अझै पनि गाउँघरमा पुगिसकेको छैन । जनशक्ति अभावले गर्दासेवा चुस्त हुन नसकेको सरकारका अधिकारीहरुले स्वीकार गरिसकेका छन् । अहिले देशका ४२ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रुपमा लागु भइसकेको छ भने बाँकी जिल्लामा लागू हुने प्रक्रियामा छ ।

४२ जिल्लामा सेवा प्रवाह गराइरहेको स्वास्थ्य बीमा बोर्डले दिइरहेको सेवा दक्ष जनशक्ति, इन्टरनेटको सहज पहुँचकचो अभावमा सेवा चुस्त बनाउन नसकेको स्वीकार गरिसकेको छ । अस्पतालको सेवा राम्रो बनाउन नसक्दा बीमा कार्यक्रम प्रभावित भएको सरकारी अधिकारीहरु बताउँछन् । जनशक्ति कम भएका कारण सेवा प्रवावकारही नभएपछि अस्पतालको स्तर बढाउन सरकार लागि परेको छ । बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य शल्यक्रिया लगायतका सेवा प्राप्त गर्न सक्छन् भने सरकारले तोकेको निःशुल्क औषधि पनि बिमितहरूले प्राप्त गर्न सक्छन् । बिमितहरूको लगत हेर्न र रुजु गर्नका लागि इन्टरनेट चाहिन्छ । तर भनेको समयमा गाउँघरमा इन्टरनेट चल्दैन । सेवाग्राहीहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता अझै पनि उस्तै छ ।

यसरी सहभागी हुन सकिन्छ
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । यसले सरकारले तोकेको अस्पतालमा एक लाखसम्मको उपचार निःशुल्क हुन्छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

यस्ता छन् सेवा सुविधा
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

सम्बन्धित समाचार