free website hit counter

हर्मुज जलमार्ग सात दिनमा खोल्ने इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

beemaadmin
२०८३ आश्विन १०, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेको जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बिहीबार न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष हर्मुज जलमार्ग खोल्ने र युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेका थिए।

प्रस्तावअनुसार निश्चित सर्त पूरा भए इरानले सात दिनभित्र हर्मुज जलमार्ग खोल्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधान खोज्न व्यापक वार्ता सुरु गर्ने जनाएको थियो।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकार तथा प्राज्ञहरूको एक कार्यक्रममा अराघ्चीले अमेरिकाले प्रस्ताव स्वीकार गरेको भोलिपल्टदेखि सात दिनको समयसीमा सुरु हुने बताएका थिए। सात दिनपछि हर्मुज जलमार्ग खुला गर्ने इरानको योजना रहेको उनको भनाइ थियो।

तर ट्रम्पले उक्त प्रस्ताव स्वीकार नगरेको द वाल स्ट्रिट जर्नलले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानी पक्षले अमेरिकाले यसअघि गरेका प्रतिबद्धता र सर्त कार्यान्वयन गर्ने विषयमा समेत आशंका व्यक्त गरेको छ।

बरु ट्रम्पले इरानविरुद्ध पुनः बमबारी अभियान सञ्चालन हुन सक्ने चेतावनी दिएका छन्।

पुरानो समझदारी कार्यान्वयनमा विवाद

इरानको पछिल्लो प्रस्ताव गत जुनमा अमेरिका र इरानबीच भएको समझदारीमा आधारित रहेको बताइएको छ। उक्त समझदारीमा अप्रिलमा भएको युद्धविरामलाई थप ६० दिन लम्ब्याउने, इरानी तेल निर्यात तथा ढुवानीमाथि लगाइएको अमेरिकी प्रतिबन्धमा छुट दिने र हर्मुज जलमार्गमा हुने समुद्री आवागमनलाई युद्धअघिको अवस्थामा क्रमशः फर्काउने विषय समेटिएका थिए।

त्यस अवधिमा अमेरिका र इरानले दीर्घकालीन समाधानका लागि वार्ता अघि बढाउने सहमति गरेका थिए। समझदारीअनुसार इजरायलले लेबननमा तत्काल सैन्य कारबाही रोक्नुपर्ने तथा हर्मुज जलमार्गमा समुद्री आवागमनको भविष्यको व्यवस्थापन इरान र छिमेकी ओमानले गर्ने भनिएको थियो।

तर जुलाईको सुरुवातमै उक्त समझदारी कार्यान्वयन हुन नसकेको बताइएको छ। त्यसपछि इरानले आफूले ‘अनधिकृत’ मार्ग प्रयोग गरेको दाबी गरेका केही पानीजहाजमाथि कारबाही गरेको थियो।

अमेरिकी पक्ष भने हर्मुज जलमार्गको विषयमा मात्र नभई इरानको आणविक कार्यक्रमसमेत समेटिएको व्यापक सम्झौताको पक्षमा रहेको फाइनान्सियल टाइम्सले वार्तासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै जनाएको छ।

ट्रम्पले यसअघि भएको समझदारीमा फर्किनसमेत अस्वीकार गर्दै आएका छन्।

कतारको मध्यस्थतामा वार्ता

यसैबीच संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारको मध्यस्थतामा अमेरिकी र इरानी प्रतिनिधिबीच वार्ता भएको थियो। दुवै पक्षले वार्तालाई सकारात्मक र रचनात्मक भनेका थिए।

तर इरानी पक्षले अमेरिकाले सम्भावित सम्झौता कार्यान्वयन गर्ने विषयमा आफूहरू विश्वस्त हुन नसकेको स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।

ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनसम्म सम्झौता नगर्ने प्रयास गरिरहेको आरोप लगाएका थिए। उनले इरानले अमेरिकी सर्त स्वीकार नगरे कडा सैन्य कारबाही हुन सक्ने चेतावनीसमेत दिएका थिए।

इरानी विदेशमन्त्री अराघ्चीले भने इरान सम्झौता गर्न हतारमा नरहेको बताएका छन्। अमेरिकी मध्यावधि निर्वाचनअघि सम्झौता भए राम्रो हुने भए पनि त्यसका लागि अमेरिकी सरकार नै जिम्मेवार हुने उनको भनाइ छ।

हर्मुज जलमार्ग विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापार मार्गमध्ये एक भएकाले यसको अवरोध वा सञ्चालनमा आउने अन्योलले अन्तर्राष्ट्रिय तेल आपूर्ति, ढुवानी लागत र विश्वव्यापी ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ।

सम्बन्धित समाचार