काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १५औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले आगामी पुस ८ गते बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसअनुसार कम्पनीले शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने तथा आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेस हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।