काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा बैंकको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ । प्रकाशित विवरणअनुसार, बैंकले साउनदेखि चैतसम्मको अवधिमा ६२ करोड ९४ लाख रुपियाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख रुपियाँ मात्र रहेको थियो । यस आधारमा हेर्दा बैंकको नाफा वार्षिक रूपमा करिब १०५ प्रतिशतले बढेको देखिन्छ। यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। बैंकले यो अवधिमा ८९ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४३ करोड ७९ लाख रुपैयाँको तुलनामा झण्डै दोब्बर हो । खुद ब्याज आम्दानीतर्फ भने सामान्य वृद्धि देखिएको छ। चालु वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँभन्दा थोरै मात्र, करिब ०।७८ प्रतिशतले बढी हो। यद्यपि, बैंकको वितरणयोग्य मुनाफा अझै पनि ऋणात्मक अवस्थामै रहेको छ।