काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डर रकम १० अर्ब नाघेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ अनुसार यस अवधिसम्म १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरिएको छ।
यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४२ प्रतिशतले कम हो। अघिल्लो वर्ष तेस्रो त्रैमाससम्म ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको थियो।
बीमालेख त्याग गर्नेको संख्या पनि घटेको देखिएको छ। गत आवको चैत मसान्तसम्म ८० हजार १८७ जनाले पोलिसी समर्पण गरेका थिए भने चालु आवको सोही अवधिमा ६८ हजार ८५५ जनाले मात्र बीमालेख सरेण्डर गरेका छन्। यसले समर्पण संख्या १४.१३ प्रतिशतले घटेको संकेत गर्छ।
यसैबीच, नविकरण नगरिएका बीमालेख (व्यतित बीमालेख) को रकम भने बढेको छ। गत आवको चैत मसान्तसम्म ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको यस्तो रकम चालु आवको सोही अवधिमा बढेर ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ पुगेको छ, जुन २.९७ प्रतिशतको वृद्धि हो।
तर, व्यतित बीमालेखको संख्या भने १.६७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा १२ लाख २५ हजार ४५४ वटा बीमा पोलिसी नवीकरण भएका छैनन्, जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो संख्या १२ लाख ४६ हजार ३०१ थियो।
समग्रमा, पोलिसी सरेण्डर दर घटे पनि नविकरण नगरिएका बीमालेखको रकम र प्रभाव भने बढ्दै गएको देखिन्छ।