free website hit counter

१६ खर्ब ५९ अर्ब ४१ करोड रेमिट्यान्स भित्रियाे

beemaadmin
२०८३ बैशाख २९, मंगलवार

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कअनुसार रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १०.२ प्रतिशत मात्रै रहेको थियो। अमेरिकी डलरमा समेत रेमिट्यान्स ३१.९ प्रतिशतले बढ्दै ११ अर्ब ५५ करोड डलर पुगेको छ। यसले मुलुकको बाह्य क्षेत्र सन्तुलन र विदेशी मुद्रा सञ्चितिलाई थप मजबुत बनाएको राष्ट्र बैंकले जनाएको छ।

Advertisement
Advertisement

चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ७० अर्ब रुपैयाँ बढी हो। गत वर्ष चैतमा १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

Advertisement
Advertisement

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा २ लाख ९४ हजार १८६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष सो संख्या ३ लाख ५८ हजार २२२ थियो।

यद्यपि, पुनः श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको छ। अघिल्लो वर्ष २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष यो संख्या बढेर २ लाख ९३ हजार २५९ पुगेको छ।

रोजगारीका लागि विदेशिने नेपालीको संख्या स्थिर रहनु र अमेरिकी डलरको विनिमय दर उच्च हुनु रेमिट्यान्स वृद्धिका मुख्य कारण मानिएको छ।

सम्बन्धित समाचार