काठमाडौं । समग्र बीमा व्यवसायलाई चुनौती बनेको नियामक निकायको अपरिपक्वि निर्णय कोरोना बीमा दाबी भुक्तानी हुन नसक्दा बीमा व्यवसायमाथि प्रश्न खडा भएको छ । बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो । सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् । समितिले पहिला नै अर्थमन्त्रालयमा पठाएको प्रस्ताव अनुसार सरकारले दिएको रकमलाई ५५ प्रतिशत मानिएको उनको भनाइ छ ।
बीमा समितिले तयार पारेको विकल्प अनुसार सरकारले दिएको १ अर्ब रुपैयाँ भनेको ५५ प्रतिशत हो । यसमा बीमा समितिले ८ प्रतिशत अर्थात १४ करोड ५४ लाख रुपैयाँ दिनेछ । यस्तै, पुनर्बीमा कम्पनीले १२ प्रतिशतले हुन आउने रकम २१ करोड ८१ लाख रुपैयाँ दिनेछ भने अहिले संचालनमा रहेका २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले २५ प्रतिशतले हुन आउने रकम ४५ करोड ४५ लाख रुपैयाँ जम्मा गर्नेछन् । एउटा बीमा कम्पनीले करिब २ करोड २७ लाख रुपैयाँ दिनुपर्ने भएको छ ।
कोरोना बीमाको दाबी भुक्तानीको लागि पर्याप्त रकम नभएकोले अहिले पनि सबैलाई भुक्तानी गर्न पुग्दैन । यसैकारण कसलाई पहिला रकम दिने भन्ने योजना बीमा समितिले बनाएको छ । समितिको संचालक समितिले नै कसलाई पहिला दिने भन्ने आधार तपार पारेको छ । समितिका अनुसार सरकारी कर्मचारी र संस्थागत रुपमा प्रिमियम बुझाउनेहरुले पहिलो चरणमा कोरोना बीमाको दाबी रकम पाउने छैनन् । व्यक्तिगत रुपमा कोरोना बीमा गरेका व्यक्तिहरुले पीसीआर गरेको मितिका आधारमा दाबी भुक्तानी रकम दिइने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
कोरोना पोजेटिभ भएको पीसीआर रिपोर्ट देखाएको आधारमा भुक्तानी पाउने गरी गरिएको कोरोना बीमाको दाबी भुक्तानी रकम ११ अर्ब रुपैयाँभन्दा बढी बाँकी छ । तर, यसअघि नै बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा बीमा समितिले केही रकम दिएर कोरोना बीमाको दाबी रकम भुक्तानी भने भएको छ । कोरोना बीमाको प्रिमियम १ अर्ब रुपैयाँ उठेको थियो । बीमा कम्पनीहरुले संकलन गरेको सो प्रिमियम कोरोना संक्रमण पुष्टी भएका बिमितलाई भुक्तानी गरिसकिएको छ । यस्तै, बीमा कम्पनीहरुले आफ्नो महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ, पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ र बीमा समितिले १ अर्ब रुपैयाँ दिएर कोरोना बीमाको दाबी रकम यसअघि नै भुक्तानी गरिसकिएको छ ।