free website hit counter

४१ प्रतिशत नागरिक बीमाको दायरामा : बढ्यो बीमा व्यवसाय

beemaadmin
२०७९ श्रावण २८, शनिबार

काठमाडौं । जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने चेतना वृद्धि भएसँगै नेपालमा बीमाको पहुँच बढेको छ । अहिले ४१.२० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले आर्थिक वर्ष २०७८र७९ सम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको जनसंख्या ४१.२० प्रतिशत पुगेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ को अन्त्यमा २७.५३ प्रतिशत रहेको बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा नै १३.६७ प्रतिशतले बढेको बीमा समितिको दाबी छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि अनिवार्य गरेको वैदेशिक रोजगारी जीवन बीमा लेख बाहेक नै ३८.२६ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको समितिको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो संख्या २५.२३ प्रतिशत मात्रै रहेको थियो ।
बीमा गर्ने नागरिकमध्ये ठूलो संख्या म्यादी बीमाको रहेको समितिको तथ्यांक छ । म्यादी र लघु म्यादी बीमालेख हटाउँदा बीमाको दायरमा रहेको जनसंख्या १६.६२ प्रतिशत रहेको बीमा समितिको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । लगानी अथवा सावधिक बीमा भन्दा मयादी बीमामा नागरिकको आकर्षण उच्च देखिएको बीमा समितिको तथ्यांकले देखाउँछ । म्यादी बीमामा बीमितलाई निश्चित अवधिसम्मका लागि जोखिम बहन गर्ने सुविधा उपलब्ध गराउँछ । यसमा बीमा गर्नेले तिरेको प्रिमियम रकम फिर्ता हुँदैन । तर, बीमितको कुनै दुर्घटना भयो भने उसको परिवारले दाबी भुक्तानी पाउँछ । सावधिक अर्थात् लगानी जीवन बीमा योजनामा भने बीमितले तिरको बीमा शुल्कका साथै कम्पनीले बीमालेख खरिद गर्नेलाई दिने बोनस रकम समेत थप भएर बीमा अवधि समाप्त भएपछि एकमुष्ट रकम प्राप्त गर्छ । सावधिक बीमा योजना भनेको एक प्रकारको बचत पनि हो । यस्तो बीमा गर्ने नागरिकको संख्या भने तुलनात्मक रुपमा कम रहेको देखिन्छ ।
बीमा कम्पनीकै कर्मचारीहरु भने समितिले दाबी गरेजस्तो ४१ प्रतिशत भन्दा बढी जनसंख्यामा बीमाको पहुँच नपुगेको बताउँछन् । समितिले कुल बीमालेख संख्यामा डुब्लिकेसन भएको बीमालेख संख्या भन्दै पाँच प्रतिशत हटाएर उक्त तथ्यांक तयार पारेको प्रवक्ता पौडेलले बताए । तर, बीमा कम्पनीका कर्मचारीहरु भने बीमालेख डुब्लिकसेन संख्या पाँच प्रतिशत भन्दा माथि रहेको बताउँछन् । २०८९ असार मसान्तसम्म कुल जीवन बीमालेख संख्या १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको समितिले जनाएको छ ।
जसमध्ये डुब्लिकेन भएको ५ प्रतिशत हटाउँदा १ करोड २४ ८९ हजार २०६ बीमालेख पुगेको समितिले जनाएको छ । कुल जनसंख्या ३ करोड ३ लाख १२ हजार ४९८ लाख आधार मानेर उक्त तथ्यांक तयार पारिएको समितिले जनाएको छ । स्थानीय तहसम्म बीमा कम्पनीको उपस्थिति पुग्दा बीमा गर्ने नागरिकको संख्या पनि बढेको समितिको प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले बताए । समितिले स्थानीय तहसँग मिलेर जनचेतनामुक कार्यक्रम गरिरहेको छ भने, बीमा कम्पनी पनि गाउँ गाउँसम्म पुगेका छन्, उनले भने, बीमा भनेको सुरक्षा हो भन्ने शिक्षा नागरिकमा पनि बढेको छ, जसले एक वर्षमै बीमा गर्नेको संख्या धेरै बढेको हो । बीमा कम्पनीले पछिल्लो समय ल्याएका बीमालेख नेपालीको लागि उपयुक्त रहेकोले पनि बीमा गर्नेको संख्या बढेको उनले बताए ।
बढ्यो बीमाशुल्क
बीमा व्यवसायसँगै बीमाको पहुँच पनि बढेको समितिको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीले १ खर्ब ७७ अर्ब ८१ करोड ५ लाख बीमा शुल्क संकलन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६।४८ प्रतिशतले बढेको बीमा समितिले जनाउको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा बीमा कम्पनीहरुले १ खर्ब ५२ अर्बै ६५ करोड बीमाशुल्क संकलन गरेका थिए । बीमाशुल्क वृद्धिमा निर्जीवन बीमा व्यवसायतर्फ राम्रो देखिएको छ । निर्जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३१ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा २३।५६ प्रतिशतले वृद्धि भएर ३९ अर्ब १७ करोड पुगेको समितिले जनाएको छ । यता जीवन बीमा व्यवसायतर्फ भने कुल बीमाशुल्क संकलन १ खर्ब २० अर्ब ९५ करोडबाट १४।६३ प्रतिशतले वृद्धि भएर १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख पुगेको छ ।
एक वर्षको अवधीमा जीवन बीमालेख संख्या ८६ लाख १२ हजार ८५० बाट ५२।०९ प्रतिशतले वृद्धि भएर बढेर १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको हो । जसमध्ये सावधिक बीमालेख ५३ लाख १ हजार ५६७ रहेको छ । त्यस्तै म्यादी तथा लघुम्यादी बीमालेख संख्या ६९ लाख ६ हजार ९९५ र वैदेशीक रोजगार बीमालेख संख्या ८ लाख ९१ हजार ११३ पुगेको समितिले जनाएको छ । यस्तै निर्जीवन बीमालेख संख्या भने २।०६ प्रतिशतले मात्रै बढेको छ । बीमा समितिका अनुसार २०७८ असार मसान्तमा २७ लाख ३१ हजार ७७३ रहेको निर्जीवन बीमालेख २०७९ असार मसान्तमा बढेर २७ लाख ८८ हजार ०१८ पुगेको छ । निर्जीवन बीमालेख सामान्यतय एक वर्ष अवधिको हुन्छ भने हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ ।
बीमा कम्पनीमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या एक वर्षमा १०।३१ प्रतिशतले बढेर ११ हजार ८६१ पुगेको छ । २०७८ असार मसान्तसम्म १० हजार ७५२ जनालाई प्रत्यक्ष रोजगारी दिएकोमा २०७९ असार मसान्तमा आउँदा ११०० भन्दा बढीले थप रोजगारी पाएका छन् । यस्तै बीमा कम्पनीको कार्यालय संख्या २ हजार ९३३ बाट बढेर ३ हजार ३३६ पुगेको छ ।

सम्बन्धित समाचार