काठमाडौं । नियामक निकाय र बीमकहरुको सक्रियताले आम सर्वसाधारणमा बीमा चेतना वृद्धि भइरहेको छ । बीमा चेतना वृद्धिसँगै बीमाको दायरा पनि फराकिलो बन्दै गएको छ । कुल जनसंख्याको ४४.२० प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४ प्रतिशत भन्दा धेरैले बढेको हो । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच ४.२५ प्रतिशत विन्दुले बढेर ४४.२० प्रतिशतमा पुगेको हो । बैशाखसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ८०.६८ प्रतिशतले बढेर १५ लाख ८३ हजार ७४६ वटा पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ८ लाख ७६ हजार ५४१ वटा यस्तो बीमालेख जारी गरेका थिए । यस्तै जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमालेख बाहेक) पनि १७.२७ प्रतिशतले बढेर ५२ लाख ५२ हजार ६३५ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि ११।३८ प्रतिशतले बढेर १ करोड ४० लाख ६९ हजार ९३७ वटा पुगेको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या पनि ८.०६ प्रतिशतले बढेर २५ लाख ३७ हजार ४१६ वटामा पुगेको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरेका थिए । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क पनि ४.६२ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब ७४ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ५३ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । चुक्ता पुँजी वृद्धिको निर्णय नेपाल बीमा प्राधिकरणले गरेपछि र त्यसको कार्यान्वयमा कडाई गरेसँगै बीमकहरु धमाधम मर्जरमा जान थालेका छन् । मर्जर पश्चात जीवन बीमा १५ वटा, निर्जीवन बीमा १४ वटा र पुनर्बीमा कम्पनी २ गरी ३१ वटामा सीमित भएका हुन् ।