free website hit counter

५१ अर्ब ५९ करोड दाबी भुक्तानी, ५२ अर्ब अझै बाँकी

beemaadmin
२०८३ बैशाख १७, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा बीमा कम्पनीहरूले कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन दुवै प्रकारका कम्पनीहरूले उक्त रकम बराबरको दाबी फर्छ्योट गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको थियो। यस आधारमा चालु वर्षमा दाबी भुक्तानी १६.७९ प्रतिशतले घटेको देखिन्छ।

Advertisement
Advertisement

प्राधिकरणका तथ्यांकअनुसार, चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ लाख ४४ हजार ३०६ वटा दाबीबापत ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन्, जुन गत वर्षको तुलनामा ३१.४५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म २ लाख ८२ हजार ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

Advertisement
Advertisement

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरूले चालु वर्षको चैत मसान्तसम्म १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा १ लाख १ हजार ७१३ वटा दाबीबापत १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी भएको थियो। यसले निर्जीवन बीमातर्फ दाबी संख्या ९.८३ प्रतिशत र भुक्तानी रकम २३.२४ प्रतिशतले वृद्धि भएको देखाउँछ।

यस अवधिसम्म कुल ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी अझै बाँकी रहेको छ। जसमध्ये जीवन बीमा कम्पनीतर्फ ६१ हजार ५१६ वटा दाबीको ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ भने निर्जीवन बीमा कम्पनीतर्फ १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार