free website hit counter

५८ अर्ब रुपैयाँ दाबी भुक्तानी हुँदा ५१ अर्ब बाँकी

beemaadmin
२०८३ जेष्ठ २४, आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले झण्डै ५८ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म बीमकहरूले कुल ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।

यद्यपि, यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका थिए।

Advertisement
Advertisement

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले एक लाख ५९ हजार ३०२ दाबीबापत ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा दुई लाख १८ हजार ९५१ दाबीको ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

Advertisement
Advertisement

निर्जीवन बीमा कम्पनीहरूले भने एक लाख २५ हजार ७८२ दाबीबापत २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको सोही अवधिमा निर्जीवन बीमकहरूले एक लाख १३ हजार ९३७ दाबीका लागि १८ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेका थिए।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा बीमा कम्पनीहरूले अझै ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ। कुल एक लाख ७८ हजार ६० दाबीको टुंगो लाग्न बाँकी रहेको तथ्यांकले देखाएको छ।

जीवन बीमा कम्पनीहरूको हकमा ६१ हजार ६४९ दाबीबापत पाँच अर्ब ५२ करोड ४१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ४८१ दाबीका लागि चार अर्ब ४५ करोड १५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको थियो।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूबाट एक लाख १६ हजार ४४१ दाबीबापत ४५ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

दाबी भुक्तानीको रकम घटे पनि निर्जीवन बीमातर्फ दाबी संख्यामा वृद्धि देखिएको छ भने ठूलो परिमाणमा दाबी फर्छ्योट हुन बाँकी रहनुले बीमा कम्पनीमाथि वित्तीय दायित्वको दबाब कायम रहेको संकेत गरेको छ।

सम्बन्धित समाचार