काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।
बैंकको आधारदरमा परिवर्तन भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
बैंकले नाइमा अटो एक्सपोमा नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना पनि ल्याएको छ।
तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।
गाडी खरिद गर्न इच्छुक ग्राहकको सुविधाका लागि बैंकले नाइमा अटो एक्सपोमा आफ्नै स्टल राखेको छ। ग्राहकले स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
आवश्यक कागजात पूरा गरेपछि बैंकले गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृति पत्र प्रदान गर्ने जनाएको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ।
बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको जनाएको छ।
ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ।
हाल बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्। यी संरचनामार्फत बैंकले १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।
यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।