free website hit counter

अकस्मात यसरी आयो अग्निको नाम

beemaadmin
२०७६ माघ ८, बुधबार

बजारको अनुमान छ– सभामुखमा प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेको । तर, वास्तविकता फरक रहेछ, आइतबार अपराह्न बसेको नेकपा सचिवालय बैठकमा उहाँले अग्निको ‘अ’ पनि भन्न पाउनुभएन ।

प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भन्नुभयो, ‘तपाईंहरु सबै एक भएर आउनुभयो ! अब म के भनौं !’ यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेको भए प्रचण्ड आफैँ पनि ‘भैगो त, सुवाषजीलाई नै गरौँ’ भन्नेमा पुगिसक्नुभएको थियो । तर, त्यसमाथि भैंसेपाटी गठबन्धनले ‘सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड नै हुनुपर्छ’ भन्ने बल उहाँलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोल्नुभएन । भैंसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डले सभामुखको नाम फ्याट्टै भनिहाले हुन्थ्यो भन्नेमा थिए । तर, केपी ओलीले त्यो मौका दिनुभएन र भन्नुभयो, ‘…अग्नि सापकोटा †’ यसरी अग्निको नाम ओलीको मुखबाट प्रस्तावित भयो । त्यसमा ‘हुन्छ, हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो । बैठक सकियो ।

सचिवालयका ९ मध्ये सात जनाको एकमत थियो ‘शिवमायाको तरिका गलत भयो ।’ कुरा उठ्यो, ‘गलतमात्रै हैन, अति नै भयो ।’ माधवले भन्नुभयो, ‘अहिले उपाय निकाल्नुपर्यो । के गरेर हुन्छ उहाँको राजीनामा गराउनुप¥यो ।’ केपी र ईश्वरले यसबारे केही बोल्नुभएन । यदि निर्देशनविपरित शिवमायाले अन्तिम अवस्थासम्म पनि राजीनामा दिइनन् र पार्टीबाट प्रस्तावित उम्मेदवारले नोमिनेशन गर्न नपाउने स्थिति आयो भने के गर्र्ने ? सहमति जुट्यो, ‘अर्को उपाय खोज्ने ।’ अर्थात्, नेकपासँग अन्तिम र एक मात्र निर्दयी उपाय बाँकी थियो, निर्वाचन आयोगलाई समानुपातिकतर्फ शिवमायाको प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको सूचना दिने ! यसपछि उपसभामुख पद स्वतः समाप्त हुन्थ्यो । त्यसो गर्नु अपमानको पराकाष्ठा हुने कारण त्यो बाटोमा जान नपरोस् भन्नेमा नेताहरु थिए । तर, अस्ति सोमबार शिवमायाले बिनाआनाकानी उपसभामुखबाट राजीनामा दिइन् । ‘अर्को उपाय’ तिर पार्टी लागेन ।

यसपछि संवैधानिक परिषद्को सदस्यसमेत हुने कारण उपसभामुखको महत्व र त्यससम्बन्धी अर्को चर्चा छ । नेकपाले शुरुमै जनमोर्चाकी एकमात्र प्युठानी सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको हो । तर, मोहनविक्रम सिंह, चित्रबहादुर केसीहरु यस्तो गर्न शुरुदेखि नै तयार भएनन् । उनीहरुले एउटामात्र सांसद, त्यो पनि उपसभामुख बनाएपछि भूमिकाविहीन हुने भन्दै अस्वीकार गरेका छन् ।

सरकारबाट उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी वहिर्गमित भएपछि भोलि हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले अर्को मधेसकेन्द्रित दल राजपासँग गठबन्धन गरेको छ । उपेन्द्र यादवहरु राजपाको भोट चोरेर प्रदेश २ मा कांग्रेससँगको गठबन्धनलाई सफल बनाउने रणनीतिमा छन् । यदि, त्यसो भएन, अर्थात् राजपाले नेकपासँगको गठबन्धनमा तलमाथि गरेन र पूर्वसहमति मुताविकका उम्मेदवार भोलि साँझ निर्वाचित भएमा पर्सि बिहानै राजपाको सिफारिसकी महिला सांसदलाई उपसभामुख बनाउने प्रक्रिया शुरु गरिने भएको छ ।

(जनअमास्था साप्ताहिकबाट)

सम्बन्धित समाचार