काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कामाख्या फिनकोर्प प्रालिका तत्कालीन सञ्चालक सुलभ अग्रवाल र सुभी अग्रवालका नाममा ७ दिने समाव्हान तथा इतलायनामा म्याद सूचना जारी गरेको छ।
उच्च अदालत पाटनबाट मुद्दा नं. ०८१-डीपी-२२१० मा आवश्यक प्रमाण बुझी सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर प्रदान गरेर कानुनबमोजिम निर्णय गर्न भन्दै मिसिल फिर्ता आएपछि कार्यालयले यस्तो सूचना जारी गरेको हो।
कार्यालयका अनुसार कामाख्या फिनकोर्प २०७८ वैशाख ३१ गते दर्ता हुँदा प्रतिशेयर मूल्य १०० रुपैयाँ कायम थियो। तर, २०७८ असार १७ गतेसम्म प्रतिशेयर मूल्य ८०० रुपैयाँ पुगेको देखिएकाले त्यसको ठोस आधार तथा कारणबारे आवश्यक प्रमाण बुझ्नुपर्ने देखिएको छ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर जफत तथा हस्तान्तरणको प्रक्रिया कम्पनीको प्रबन्धपत्र, नियमावली तथा कम्पनी ऐन, २०६३ बमोजिम भए–नभएको विषयमा समेत प्रमाण बुझ्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
यसअघि सम्बन्धित व्यक्तिका नाममा हुलाकमार्फत रजिष्ट्री गरी म्याद सूचना पठाइएको थियो। तर, त्यसको कुनै जवाफ प्राप्त नभएपछि कार्यालयले पुनः सार्वजनिक रूपमा ७ दिने म्याद सूचना जारी गरेको हो।
कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र आधार तथा प्रमाणसहित लिखित प्रतिक्रिया पेस गर्न र स्वयं उपस्थित हुन आग्रह गरेको छ। स्वयं उपस्थित हुन नसके कानुनबमोजिम प्रतिनिधि वा कानुन व्यवसायीमार्फत उपस्थित हुन सकिने जनाएको छ।
तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया तथा प्रमाणसहित उपस्थित नभएमा कानुनबमोजिम निर्णय गरिने र त्यसपछि उक्त विषयमा उजुर–बाजुर गर्न नपाइने कार्यालयले सूचनामार्फत जनाएको छ।