काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु भएको छ । आज जेठ १४ गते आइतबारदेखि दुई कम्पनीबीच मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो । नेपाल बीमा प्राधिकरणले जेठ २ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै कम्पनी रजिष्टारको कार्यालयबाट जेठ ८ गते दुबै कम्पनीबीच मर्जर प्रयोजनका लागि नाम परिवर्तन तथा पूँजी वृद्धि सहितको प्रबन्धपत्र,नियमावली संशोधन अभिलेख भई नेपाल धितोपत्र बोर्डबाट मर्जरको लागि जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । युनाइटेड र अजोड इन्स्योरेन्सबीच १००ः८२.५ शेयर अनुपातमा मर्जर भएका हुन् । हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ र अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जर पश्चात बनेको युनाइटेड अजोडको चुक्ता पूँजी एक अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ । युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्ष अजाद श्रेष्ठ हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा एसके रावललाई नियुक्त गर्ने तयारी छ ।