काठमाडौं । अब सामान्य नागरिकलाई सुन लगाउन भन्दा गुन लगाउन सजिलो भएको छ । एक लाखबाट पनि उकालो लागेको सुन अझै माथि जाने अनुमान व्यापारीहरुले गर्न थालेका छन् । फागुन महिना लागेयता सुनको भाउ निरन्तरजसो घटिरहेको छ । यो महिनाको पहिलो सातामा नै सुन एक हजार ५०० रुपैयाँले सस्तिएको छ । फागुन १ गते सोमबार सुन प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो । तर साताको अन्तिम कारोबार दिन, शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा झरेको छ । पछिल्लो समयमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भइरहेको छ । शुक्रबार एक डलर लिनका लागि १३२।६६ रुपैयाँ तिर्नुपरेको छ । सोही कारण सुनको मूल्य केहि दिनदेखि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तरराष्ट्रिय विज्ञहरुका अनुसार सुनको भाउ अहिले घट्ने देखिँदैन । तर केहि दिनमा भने सुनको भाउ ह्वात्त बढ्ने अनुमान उनीहरुले गरिरहेका छन् ।
नेपाली सुन बजारमा अबको भाउ के होला भन्ने प्रश्नमा बज्राचार्य जवाफ दिन्छन्, सुनको भाउ खासमा माथि नै जाने हो तर अन्तरराष्ट्रिय व्यापारीहरुको चलखेलका कारण कहिले होल्डिङ हुन्छ, कहिले के हुन्छ । विज्ञहरुका अनुसार भाउ घट्ने अवस्था अहिले देखिँदैन । अबको एक दुई दिनमा सुनको भाउ ह्वात्तै बढ्न सक्छ । तर एक दुई दिन ब्रेक हुनसक्छ तर एक लाख भन्दा तल जाला जस्तो मलाई लाग्दैन, उनी थप्छन् ।
महासंघले समग्र रुपमा सुनको कोटा वृद्धि गर्ने माग गरिरहेको भएपनि अहिले भने नेपाली सुन व्यवसायीले १० किलो सुनले नै बजार धानेको अवस्था छ । यस विषयमा बज्राचार्य भन्छन्, वर्तमान अवस्थामा हालको १० किलो कोटा र पहिले बचेका रहलपहल सुनले नै काम चलाइरहेका छौं । अहिले सुनको भाउ बढि हुँदामाग धेरै छैन, त्यसैले नै पुर्याइरहेका छौं ।
खासमा विवाहको लगनको समयमा बजारमा ४० किलो सम्म खपत हुन्थ्यो तर अहिले भने त्यस्तो धेरै खपत छैन । अहिले १० किलो सुन दिइरहेको छ । अब कुनै कारणबस् भाउ घट्यो भने सुनको माग बढ्ला । यदि भाउ नघटेर यो भन्दा पनि बढे भने माग त्यति धेरै हुँदैन, उनी थप खुलाउँछन् । तर सुनको भाउ बढेर एक लाख १५ देखि २० हजार पुगेर फेरि घट्दै एक लाख पाँच हजारसम्म आइपुगेमा माग धेरै हुनसक्ने बज्राचार्यको भनाई छ । विगत ३० वर्षदेखि नेपालमा यहिँ ट्रेण्ड चलिरहेको छ । हाइ भएर घटेपछि बल्ल मानिसहरु सुन खरिद गर्छन्, उनी सुनाउँछन् । जतिबेला कोटा पुगेको थिएन, डिमाण्ड हाई थियो, त्यति बेला देशको परिस्थिती ठिक थिएन । डलर सञ्चिती पनि धेरै कम थियो, अहिले पनि त्यति धेरै राम्रो अवस्था होइन । अब अहिले सुनको भाउ बढेको अवस्था सरकारले दिइराखेको कोटाबाट नै पुर्याइरहेका छौं । पुराना गरगहनाहरु ब्रिकी गर्ने सर्वसाधारणका कारण पनि सुनको अभाव अहिले नभएको महासंघका महासचिव बज्राचार्य खुलाउँछन् ।