काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नका सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा समिति गठन गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गत मसिंर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले सिलवाल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । साथै प्राधिकरणको अध्यक्ष पद रिक्त रहेको थियो । कार्यवाहक अध्यक्षको रुपमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरण सम्हाल्दै आएका छन् ।