काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आइपीओ निष्काशनमा चलखेल गरेको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई सरकारले बर्खास्त गर्ने तयारी सुरु गरेको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन गर्ने प्रक्रिया सुरु भएकै बेला सो कम्पनीको सेयर गैरकानूनी रुपमा लिएको आरोप लागेका ढुंगान सो प्रकरणमा दोषी देखाएसँगै सरकारले उनलाई बर्खास्त गर्ने तयारी थालेको हो । उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा गठन गरेको छानबिन तथा सुझाव समितिले सर्वोत्तम सिमेन्टको सेयर गैरकानूनी ढंगले खरीद गरेको निश्कर्ष निकालेको छ । यही तयारी स्वरुप सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्रालयको प्रस्तावमा बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्रोतका अनुसार बर्खास्त गर्ने पूर्व तयारी स्वरुप उनलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।
ढुंगानाले अमेरिकामा रहेकी आफ्नी छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङको प्रक्रियाबाट आइपीओ निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरीद गरी नैतिकहीन र गैरकानूनी काम गरेका विषय बाहिरिएसँगै यसमाथि छानबिन भएको थियो । अर्थ मन्त्रालयले उनलाई निलम्बन गरी छानबिनलाई अगाडि बढाएको थियो ।