free website hit counter

अनुदानको खोप लगाउनै ६२ करोड खर्च

beemaadmin
२०७७ माघ ९, शुक्रबार

काठमाडौँ । भारतले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप लगाउन मात्रै ६२ करोड खर्च लाग्ने छ । सो खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिन्छ ।

पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत विवरणअनुसारको मात्रा भिन्दाभिन्दै प्याकेट बनाई हरेक जिल्लामा पठाइनेछ । केही खोप खेर जाने आकलनसहित प्रत्येक प्याकेटमा करिब १० प्रतिशत मात्रा बढी राखिनेछ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ७ देखि १० दिनभित्र खोप अभियान थाल्न निर्देशन दिएको बताइएको छ । पहिलो चरणमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा संलग्नलाई खोप दिने सरकारको योजना छ ।
६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको बताइएको छ । २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ६३ हजार ३ सय ६० जनालाई र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार ५ सय ३२ जनालाई खोप दिइनेछ । लुम्बिनीमा ३९ हजार ४ सय ९५, प्रदेश १ मा ३५ हजार ४ सय ५६, प्रदेश २ मा ३४ हजार ८ सय ४, गण्डकीमा १७ हजार ६ सय ३० र सुदूरपश्चिममा १६ हजार २ सय ९३ जनाले खोप लगाउन पाउने भएका छन् । यो संख्या अद्यावधिक भइरहेकाले केही हेरफेर हुन सक्ने पनि मन्त्रालयले जनाएको छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंमा ३१ हजार ५ सय १९ जना लाभान्वित हुनेछन् भने सबैभन्दा कम मुगुमा ९४ जनाले पहिलो चरणको खोप पाउनेछन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा पूरै ६२ करोड नलाग्न सक्ने भए पनि बजेट बाँकी रहे भविष्यमा आउने खोपका लागि खर्च गर्ने सर्तमा मागअनुसारकै निकासा दिन लागिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार