free website hit counter

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३३ प्रतिशतले घट्दा पनि नेपाली बजारमा किन परेन प्रभाव ?

beemaadmin
२०८३ असार ९, मंगलवार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको भए पनि नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। पछिल्लो केही महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ३३ प्रतिशतले घट्दा नेपाली बजारमा भने मूल्य केवल १० प्रतिशतको हाराहारीमा मात्रै घटेको देखिएको छ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ५८९ डलरसम्म पुगेको मूल्य हाल घटेर ४ हजार १९६ डलरको आसपासमा झरेको छ। इरान–अमेरिका तनाव तथा विश्व बजारमा देखिएको आर्थिक उतारचढावका कारण सुनको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ।

Advertisement
TEST

तर नेपाली बजारमा सुनको मूल्य अपेक्षाअनुसार घट्न सकेको छैन। एक समय प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य हाल २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको तुलनामा यो गिरावट निकै कम रहेको व्यवसायीहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार सरकारले सुन आयातमा लगाएको उच्च भन्सार महसुल नेपाली बजारमा मूल्य नघट्नुको प्रमुख कारण हो। उनका अनुसार सुनको माग कमजोर रहेको अवस्थामा मूल्य घट्नुपर्ने भए पनि कर संरचनाका कारण त्यसको प्रभाव उपभोक्तासम्म पुग्न सकेको छैन।

उनले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र भारतजस्ता ठूला बजारमा सुनको आयात घट्नु पनि मूल्यमा आएको गिरावटका प्रमुख कारण रहेको बताए। भारत र चीन विश्व सुन बजारका मुख्य उपभोक्ता भएकाले ती देशहरूको माग घट्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य थप ओरालो लाग्ने सम्भावना रहेको उनको भनाइ छ।

पछिल्लो बजेटमार्फत सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यद्यपि २ प्रतिशत विलासिता कर भने हटाइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँगको मूल्य अन्तर कम गर्न तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले भन्सार महसुल बढाइएको बताएका छन्।

यसैबीच अमेरिकी डलरको विनिमय दर निरन्तर बढ्दै जाँदा पनि सुनको मूल्यमा दबाब परेको व्यवसायीहरूको भनाइ छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ६२ पैसा पुगेको छ। सुन आयातका लागि डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलर महँगिँदा नेपाली बजारमा सुनको मूल्य घट्न नसकेको उनीहरूको तर्क छ।

व्यवसायीहरूका अनुसार कर वृद्धि, डलरको मूल्यवृद्धि र आयात लागत बढेकाले अन्तर्राष्ट्रिय बजारमा सुन सस्तो भए पनि नेपाली उपभोक्ताले त्यसको पूर्ण लाभ लिन नसकेका हुन्।

सम्बन्धित समाचार