free website hit counter

अबको प्रधानमन्त्री देउवा कि ओली ?

beemaadmin
२०७९ मंसिर १०, शनिबार

काठमाडौं । नयाँ पुस्तालाई राजनीतिमा ल्याउने भनिए पनि फेरि मुलुकको कार्यकारी प्रधानमन्त्री भने उही पुरानै अनुहारमध्येबाटै हुने छाँटकाँट देखिएको छ । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय २४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता र विपक्षी दुवै गठबन्धनले उस्तै उस्तै संख्यामा जित हासिल गरेका छन् । त्यसैले अब त्रिशंकु संसद् बन्ने निश्चित छ । अहिलेसम्म नेपाली कांग्रेसले ४३ मा जित र १० मा अग्रता हासिल गरेको छ । एमालेले ३३ जित र १३ मा अग्रता हासिल गरेको छ । माओवादीले १२ मा जित, ६ मा अग्रता हासिल गरेको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात जित र एकमा अग्रता हासिल गरेको छ । राप्रपाले पाँचमा जित, दुईमा अग्रता हासिल गरेको छ । जसपाले तीन जित र तीनमा अग्रता, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समान तीन–तीन सिट जित हात पारेको छ । अहिलेसम्म स्वतन्त्र उम्मेदवार पाँचजनाले चुनाव जितेका छन् ।
यस आधारमा कुनै एक दल एक्लैले सरकार बनाउने परिस्थिति देखिन्न । प्रत्यक्ष निर्वाचनको परिणामले मात्र सरकार बन्न नसक्ने भएपछि समानुपातिक मतपरिणाम चाहिन्छ नै । त्यही भएर अब २२ मंसिरसम्म दलहरूबीच कस्तो सरकार बनाउने भन्ने रस्साकस्सी सुरु हुने देखिन्छ ।
सत्तागठबन्धनले सोचेजस्तो नतिजा हात नपारेकाले शीर्ष नेताहरू असन्तुष्ट बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नतिजाप्रति खुसी छैनन् । उनीहरू नेपाली कांग्रेससँग निकै रुष्ट बनेका छन् । तथापि सत्तागठबन्धनको बैठक राखेर छलफल हुने प्रचण्ड र नेपालले बताइसकेका छन् ।

सबैभन्दा पहिलो विकल्प अहिलेका लागि सत्तागठबन्धनलाई नै निरन्तरता दिनु हो । त्यसका लागि ठूलो दलको हैसियतमा कांग्रेस नेतृत्वमा सरकार बन्ने छ । तर त्यसका लागि प्रधानमन्त्री को बन्ने भन्ने यकिन हुन सकेको छैन । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै निरन्तरता दिने कि विकल्प खोज्ने भन्नेमा छलफल हुन बाँकी छ । यदि प्रचण्ड, माधव नेपालले माने भने देउवा प्रधानमन्त्री बन्छन् नत्रभने गठबन्धन टुट्छ ।

एमाले अध्यक्ष केपी ओलीले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बनाउने घोषणा नै गरिसकेका छन् । निर्वाचनको मतपरिणामले एमाले गठबन्धनलाई सरकार बनाउन निकै कठिन छ । किनकि एक सय ३८ सिट पुग्दैन । त्यसैले ओली प्रधानमन्त्री बन्न सबैभन्दा पहिले अहिलेको सत्तागठबन्धन तोडिनुपर्ने हुन्छ । यदि गठबन्धन टुटेमा एमाले, माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार बन्नेछ । त्यसका लागि राप्रपासमेत आवश्यक पर्दैन । सजिलै एक सय ३८ पुग्छ । तर, एमाले अध्यक्ष ओलीले कस्तो रणनीति अपनाउँछन् भन्ने कुराले नै धेरै कुरा निर्भर गर्छ । अहिलेको गठबन्धन टुटाउन उनले प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गर्नसमेत सक्नेछन् । त्यसो भएमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना सकिनेछ । विगतको दुई तिहाइ सरकार चलाउन नसकेका ओलीले अब फेरि संयुक्त सरकार चलाउलान् वा प्रतिपक्षमै बस्लान् भन्नेमा धेरैको चासो छ । ओलीले बिहीबार झापा पुगेर चुनावको नतिजाप्रति असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले जनताले विवेक नपुर्याएको बताइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार