काठमाडौं । जिल्लाबाट बेरोकटोक ताम्लो कुटुरो बोकेर राजधानी छिरेका नागरिकलाई राजधानीको मुख्य नाका नागढुंगामा कडिकडाउ गर्न थालिएको छ । सरकारले सबैतिर एउटै नियम लागू गरिदिएको भए सयौं किलोमिटर पार गरेर राजधानी छिर्ने बेलामा यस्तो सास्ती व्यहोर्नु पर्ने थिएन । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्ने व्यवस्था भएको छ । त्यसपछि मात्र जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ । त्यसैगरी काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ । त्यस्तै काठमाडौ जिल्लाभित्र जोरविजोर प्रणाली लागू भएकाले जिल्ला भित्रकै लागि भने सवारी पास दिन बन्द गरिएको जनाएको छ ।