काठमाडौं । अब योग्यताले होइन नेताहरुसँगको सम्बन्धले मात्रै नियुक्ति खाने अवस्था सिर्जना हुँदैछ । व्यक्तिको योग्यता नेतासँगको सम्बन्धबाट निर्धारण हुन थालेपछि हुने यस्तै हो । यस्तै नियुक्तिले पूरा होला त दुई तिहाई नजिकको कम्युनिष्ट सरकारको समृद्ध मुलुक सुखी जनताको नारा ?
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी प्रा. डा. उपेन्द्र कोइरालालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्ति गरिएको छ । पोखरेलको आर्शिवाद पाएका उनका सम्धी कोइरालाले यो सहित राजनीतिक नियुक्ति पाएको यो सातौ पद हो ।
रक्षामन्त्री पोखरेल दाहिना भएकै कारण उनकै दबाबमा दुई साता पछि घर जान लागेका अर्थमन्त्री युवराज खतिवडाले डा कोइरालालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त गरेका हुन् ।
बैंकमा अध्यक्षका रुपमा कार्यरत सह सचिव निर्मलहरि अधिकारीलाई त्यहाँबाट राजश्व बोर्डको सदस्य बनाएर सो ठाउँमा आफ्नै सम्धी कोइरालालाई नियुक्त गर्न उपप्रधानमन्त्री पोखरेल सफल भएका हुन् । शुक्रबार कोइरालालाई सञ्चालक नियुक्त गरिएको हो। सोमबार नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ। पत्र पुगेपछि बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ। बैठकले कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ। कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।एमालेभित्रकै इमान्दार नेता कार्यकर्ताहरु कुनै लाभका पद नपाइरहेको समयमा पोखरेलका सम्धी कोइरालाले यो समेत गरी सातौं पटक सरकारी नियुक्ति पड्काउन सफल भएका छन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए । खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०५८ मा ईश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए ।
पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइन लागिएको हो ।