free website hit counter

अब बीमकले १५ प्रतिशत लगानी शेयरमा लगाउन पाउने

beemaadmin
२०८२ भाद्र १९, बिहीबार

काठमाडौं । बीमकहरुले आफूखुशी लगानी गर्न पाउँदैनन् । नियामक निकायले तोकिदिएको सीमाभित्र रहेर लगानी गर्नु पर्ने हुन्छ । अब बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको १५ प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गर्दै शेयर बजारमा गर्न सक्ने लगानीको सीमा बढाएको हो । प्राधिकरणले भदौ १७ गते बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ स्वीकृत गरेको हो । यसअघि बीमा कम्पनीहरुले शेयर बजारमा कुल लगानीको १० प्रतिशतसम्म मात्रै लगानी गर्न सक्ने प्रावधान थियो । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले बीमा कम्पनीहरुले शेयर बजारमा गर्न सक्ने सीमा ५ प्रतिशत बढाएर १५ प्रतिशत पुर्याइएको बताए । लगानी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीले शेयर बजारमा लगानी गर्ने सीमा बढाएपछि शेयर बजारमा बीमा कम्पनीको लगानी थपिने आशा लगानीकर्ताहरुले गरेका छन् । गत आवमा जीवन बीमा कम्पनीले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ६७ अर्ब २३ करोड २५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । त्यसमध्ये जीवन बीमा कम्पनीले साढे ३० अर्ब र निर्जीवन बीमा कम्पनीले साढे ४ अर्ब रुपैयाँ जति रकम शेयर बजारमा लगाएका छन् । कुल लगानीको ५ प्रतिशत सीमा बढेसँगै बीमा कम्पनीहरुको शेयर बजारमा लगानी गर्ने सीमा समेत बढ्ने देखिएको छ । लगानी निर्देशिकाले नेपाल सरकार वा राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र र केन्द्रीय बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक र पूर्वाधार विकास बैंकको मुद्दतीमा कुल लगानीको प्रत्येकमा ३० प्रतिशतसम्म अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । लगानी निर्देशिका अनुसार बाँकी ४० प्रतिशत रकम मात्रै बीमा कम्पनीले स्वविवेकले लगानी गर्न सक्ने गरी निर्देशिका ल्याइएको छ । बीमा कम्पनीहरुले पुरानो निर्देशिका अनुसार एउटै म्युचुएल फन्डमा १ प्रतिशत मात्रै लगानी गर्नुपर्ने प्रावधान रहेकोमा त्यसलाई बढाएर २ प्रतिशत बनाइएको छ । म्युचुअल फन्डमा हुने लगानीको कुल लगानीमा भने कुनै परिवर्तन भएको छैन । बीमा कम्पनीहरुले म्युचुअल फन्डमा कुल लगानीको ५ प्रतिशतसम्म लगानी गर्न सक्ने पुरानो व्यवस्थालाई भने यथावत राखिएको उनले बताए । उपनिर्देशक वाग्लेले सरकारी ऋणपत्रहरुमा लगानी गर्ने सीमा पहिलेको लगानी निर्देशिकामा भन्दा ५ प्रतिशतले वृद्धि गरेर ३० प्रतिशत पुर्याइएको छ । क वर्गको वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा कुल लगानीको ३० प्रतिशत रकम अनिवार्य मुद्दती निक्षेप राख्नुपर्ने बाध्यता रहे पनि विकास बैंक र फाइनान्स कम्पनीमा भने यो अनिवार्य छैन । ख वर्गको विकास बैंकमा कुल लगानीको अधिकतम १० प्रतिशतसम्म मात्रै मुद्दती निक्षेप राख्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएर १५ प्रतिशत पुर्याइएको छ । त्यस्तै फाइनान्समा ५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेप राख्न पाइनेमा त्यसलाई बढाएर ७ प्रतिशत पुर्याइएको छ । ऐनले स्वीकृति लिनुपर्ने भनेर तोकिएको क्षेत्र बाहेकका क्षेत्रमा लगानी गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने गरी लगानी निर्देशिकालाई संशोधन गरिएको उपनिर्देशक वाग्लेले बताए । तोकिएको क्षेत्रमा तोकिएको सीमा भन्दा बढी रकम लगानी गर्न भने निर्देशिकाले अंकुश लगाएको छ । पछिल्लो समय बीमा कम्पनीहरुले आफ्नो छुट्टै सहायक कम्पनी खोल्ने प्रवृत्ति समेत विकसित हुँदै गएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी र नेपाल लाइफ क्यापिटल स्थापना गरेर सञ्चालन गरिरहेको छ । नयाँ लगानी निर्देशकाका अनुसार बीमा कम्पनीहरुले कुल लगानीको ५ प्रतिशतसम्म रकम इन्भेष्टमेन्ट कम्पनी वा अन्य सहायक कम्पनी स्थापना गर्दा लगानी गर्न सक्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार